बिर्तामोड/ राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेमाथि भएको कुटपिटको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले गरेको छ । पीडित पक्षलाई न्याय दिलाउने पक्षमा कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता समितिको छ ।

मेचीनगर–१३ स्थित चारआलीमा गत भदौ ८ गते राति चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि जातीय गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । सोही स्थानका दुर्गा श्रेष्ठ र उनकी पत्नी विष्णुमाया श्रेष्ठले आफूहरूमाथि जातीय गालीगलौज र अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दर्ता गरेको थियो । त्यसलगत्तै पीडक श्रेष्ठ दम्पतीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

दलित सङ्गठन तथा अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउने विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले घटनालाई ढाकछोप गर्दै अनुसन्धानलाई तोडमोड गर्ने काम गरेको आरोपसमेत लगाएका छन् । उनले पीडकसँगको मिलेमतोमा उनीहरूलाई हिरासतमा नराखेर अस्पतालमा बस्न दिएको पनि बताएका छन् ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति झापाका अध्यक्ष हुकुम नेपालीले घटनाको बारेमा जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ बमोजिम मुद्दा दर्ता भइसकेको बताउँदै पीडितलाई न्याय दिलाउने सवालमा कुनै पनि सम्झौता र सहमति हुन नसक्ने बताए । पीडित परिवारका अनुसार मुद्दा फिर्ता लिन पीडककोतर्फबाट आर्थिक प्रलोभनसहितको दबाव आइरहेको उनले बताए ।

मेचीनगर कार्यपालिका सदस्य निरु परियारले अहिलेको समयमा समेत यस्ता घटना हुनुले नेपालमा जातीय भेदभाव कुन स्थितिसम्म रहेको छ भन्ने देखाएको बताउँदै अब आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्नका लागि समेत झापाका विभिन्न दलित सङ्गठनहरूले संयुक्तरूपमा मुद्दा दर्ता गराएको बताइन् ।

अधिकारकर्मी सुरेश बराइली, मुक्ति समाज झापाका अध्यक्ष भोला परियार, दलित उत्थान समन्वय समिति अध्यक्ष ध्रुव कनाललगायतले धारणा राख्दै पीडितलाई न्याय दिलाउने क्रममा सहयोग पुर्याउन सम्बन्धित सबैमा आग्रह गरेका थिए ।

७ महिनाको गर्भवती अवस्थामा रहेकी एथलेटिक्सकी कर्तीमानी राष्ट्रिय खेलाडी लाम्गादेले घटना भएको दिनदेखि नै आफूलाई पेट फुल्ने समस्या भएको र श्वास–प्रश्वासमा समेत असहज भएको बताइन् । पीडित चन्द्रकला लाम्गादे उपचारपछि अहिले अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनले आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा दुईवटा स्वर्ण पदक हासिल गरेकी थिइन् । नेपाल प्रहरीमा कार्यरत उनी गर्भवती भएका कारण इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने गरी काज बिदामा छिन् ।