इटहरी/ कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाको बहानामा तरकारीको मनपरी मूल्य तोकिए पनि अनुगमनमा स्थानीय सरकार उदासीन बनेको छ ।
थोक (होलसेल) मूल्य दैनिक घटे पनि खुद्रा मूल्य दैनिक बढिरहेको छ । तर, स्थानीय सरकारले यस विषयमा अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्य तोकेर बिक्री गर्दै आएका छन् ।
हरेक वर्ष यो समयमा तरकारीको मूल्यमा केही फेरबदल हुने भए पनि यो वर्ष बन्दाबन्दीका कारण तरकारीको मूल्य भारी मात्रामा बढेको हो । तरहरा बजारमा तरकारी बेच्दै आएकी रमिला गिरीले तरकारी नपाइएकाले महँगोमा बेच्नुपरेको गुनासो गरिन् । उनले बर्खामा तरकारीको मूल्य बढ्नुलाई स्वभाविक रूपमा लिँदै बन्दाबन्दीले थप समस्या भएको बताइन् ।
‘अहिले तरकारी पाउनै मुस्किल छ । किसानले बर्खामा तरकारीभन्दा धान रोप्छन् । तरकारी उत्पादन हुँदैन । बाहिरको तरकारीमा भर पर्नुपर्छ’–उनले भनिन् । इटहरीका युवा अभियान्ता तथा वाइडिसीका निराजन खड्काले हरियो तरकारी खान नपाएको कयौं दिन भइसकेको बताए ।
होलसेलमा सस्तो भए पनि ढुवानी, भाडालगायत सबै जोड्दा महँगो पर्न जाने खुद्रा तरकारी व्यवसायी बताउँछन् । ‘होलसेलमा सस्तो भए पनि ढुवानी गर्नुपर्यो’ इटहरी आइतबारेका एक सब्जी व्यापारीले भने, ‘भाडा तिर्नुप¥यो । घाटा खाएर त बेच्न सकिन्न ।’
ढुवानीलगायतका कारण देखाएर खुद्रा मूल्य अचाक्ली बढ्दा पनि स्थानीय सरकार मौन हुनुले थप सब्जीमा कालोबजारी बढेको उपभोक्ता बताउँछन् । अहिले बजारमा घिरौंलाको मूल्य १ सय रुपैयाँ प्रतिकेजी नाघेको छ ।
आफूखुसी मूल्य निर्धारण गरेर तरकारी बिक्री हुने गरेको उपभोक्ताको आरोप छ । इटहरी आँपगाछीका सुदिन सापकोटाले तरकारीमा अहिले लुटतन्त्र भइरहेको भन्दै बजार अनुगमन गर्न स्थानीय सरकारलाई आग्रह गरे ।