धरान / कोरोनाको कहर विच सुनसरी उद्योग वाणिज्य संघले आज आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले सुनसरी उद्योग वाणिज्य संघ, स्थानीय सरकार र व्यापारी बिचको सम्बन्धको सेतुको रुपमा रहेको बताइन ।
भण्डारीले “पर्यटकीय नगरीको रुपमा रहेको धरानमा मन्दिर मात्र होईन, धरानलाई अझ उत्कृष्ट गन्तव्य बनाउनका लागि थप लगानी गर्नुपर्ने बताइन । सोही अवसरमा संघले कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल बेस क्याम्प फुश्रे र जिल्ला ट्राफिक कार्यालयलाई फेस शिल्ड, मास्क, सेनिटाईजर र गाडीमा सेनिटाईज गर्ने उपकरणसमेत संघले प्रदान गरेको संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए ।
त्यसैगरी उक्त कार्यक्रममा २०७६ साल फागुन १५ देखि चैत्र ७ गतेसम्म संघले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०७६ को स्कुटी उपहार नतिजा समेत घोषणा गरिएको थियो । मेला अवधिमा प्रवेश टिकटको अर्धकट्टी मध्येबाट गोलाप्रथाद्वारा टिकट नं. १८६५० लाई स्कुटी विजेता घोषणा गरिएको छ ।
सो कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी कार्यालय, धरानका प्रमुख डिएसपी सुमन पोख्रेल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अन्जन कोईरालालगायतका उपस्थिति रहेको थियो ।