धरान । टमाटरमा धरानका थोक (होलसेल) व्यापारीहरूले ब्रम्हलुट गरेको समाचार प्रकाशित भएपछि सर्वाधिक चासोमा परेको टमाटरको मूल्य अहिले थोकमा दुई वटा मूल्य कायम भएको छ ।
भारतबाट आउने टमाटरको मूल्य थोकमा प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको छ भने पहाडी क्षेत्रबाट आउने टमाटरको मूल्य थोकमा प्रतिकेजी १०० रुपैयाँमा बिक्री भइरहेको छ ।
टमाटरको मूल्य धनकुटाको बिक्री केन्द्रमा भन्दा ३० रुपैयाँ प्रतिकेजीमा फरक पर्न गएपछि धरान उपमहानगरको बजार अनुगमन समितिले चासो देखाउँदै सम्बन्धित क्षेत्रमा गएर अध्ययन गरेको थियो । अध्ययनको क्रममा ‘तीन तहको विचौलिया’ रहेको निष्कर्ष अनुगमन समितिलाई दिइएको थियो ।
अनुगमनपछि तत्कालै पहाडी क्षेत्रबाट आउने टमाटरको थोक मूल्यमा १० रुपैयाँ घटाइएको थियो । जुन यथावत नै रहेको छ । तर, भारतबाट आउने टमाटरको मूल्य भने प्रतिकेजी ८० रुपैयाँमा थोकमा बिक्री भइरहेको धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । ‘भारतको ८० रुपैयाँ प्रतिकेजी र पहाडको १०० रुपैयाँ प्रतिकेजीमा बिक्री हुँदै छ’–उनले फोनसम्पर्कमा भने ।
कोरोना महामारीपछिको बन्दाबन्दीको समयमा हाल धरानको कृषि उपज बजार स्थलबाट दैनिक हरियो तरकारी ३० हजार केजी (३० टन) बिक्री भइरहेको छ । जुन मूल्यको आधारमा दैनिक २१ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । सामान्य अवस्थामा दैनिक १ सय टन कारोबार गरेको छ ।