धरान । बार्सिलोनाबाटै खेल जीवनको अन्त्य गर्न चाहेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी एकाएक क्लब छाड्न खोजेको खबर बाहिरिएको छ ।

यतिसम्म कि उनले बार्सिलोनालाई क्लब छाड्न चाहेको पत्र नै पठाइसकेको चर्चा छ । यस सिजनमा निकै खराब समय बेहारिरहेको बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा जर्मन क्लब बायर्न म्यूनिकसँग ८–२ को लज्जाजनक पराजय भोगेको थियो ।

त्यसयता मेस्सी निकै चिन्तित देखिन्थे । उनी क्लबको पहुँचबाहिर रहेका छन् । उनले आफ्नो खेल जीवनको निकै महत्त्वपूर्ण समय बार्सिलोनाका लागि खर्चेका छन् ।

तर, हालै बाहिरिन चाहेको उनका वकिलहरूले क्लबसँग भएको करारमा ‘जान दिन मिल्ने प्रावधान’ प्रयोग गर्न आग्रह गरिएको छ । यता बार्सिलोनाले उक्त प्रावधान गएको जुन महिनामै अन्त्य भएको दाबी गरेको छ ।

यो सिजनमा स्पेनिस ला लिगामा पनि नराम्रो पराजय भोगेको थियो । रियल मड्रिडले उपाधि जितेलगत्तै उनले निकै नमिठो प्रतिक्रिया दिएका थिए । क्लबको नेतृत्वसँग उनी निकै रुष्ट भएको समाचार बाहिरिएको थियो ।

६ पटक बालुन डिओर विजेता मेस्सी सन् २००४ देखि बार्सिलोनामा रहेको व्यवसायिक फुटबल खेल्दै आएका छन् । यो अवधिमा चार पटक च्याम्पियन्स लिग जिताउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मेस्सीसँग क्लबले सन् २०२१ सम्म सम्झौता गरेको छ । करार अवधि अझै केही समय रहेकाले उनलाई किन्न चाहने क्लबले ७० करोड युरो खर्च गर्नुपर्ने बताइन्छ । अहिले इलालियन जाइन्ट्स युभेन्टसले इच्छा देखाएको खबर पनि बाहिरिएको छ । जहाँ अर्को फुटबलका हस्ती क्रिष्टियानो रोनाल्डो पनि छन् ।

क्लबले भरसक मेस्सीलाई मनाउन चाहेको बुझिन्छ । क्लबका अध्यक्ष जुजेप मरिआ बर्टोमेयोसँगको टकराब नै मेस्सीको क्लब छाड्ने निर्णय भएको बताइन्छ । उनको राजीनामा र अर्को चुनाव तत्कालै भए मेस्सी पुनः क्लबमै रहेर खेल जीवनको सुखद् अन्त्य गर्नेछन् ।

तर, बीबीसीका अनुसार क्लब छाड्ने मनस्थितिमा उनी छन् । मेस्सी १३ वर्षको उमेरमा बार्सिलोना आइपुगेका हुन् । उनी त्यो अवधिमा रोगसँग जुधिरहेका थिए । अर्जेन्टिनाको निवेल्स ओल्ड बोइजबाट उनलाई बार्सिलोना ल्याइएको थियो ।

त्यसयता उनले क्लबका लागि ७३१ खेलमा ६३४ कीर्तिमानी गोल गरेका छन् । १० पटक ला लिगा उपाधि दिलाउँदा बार्सिलोनाका लागि उनले ३४ वटा ठूला उपाधि जिताएका छन् । ला लिगामा ४४४ गोल गरिसकेका उनकै नाम अग्रपंक्तिमा छ ।