पथरीशनिश्चरे । कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि अनलाइन चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र एभरेष्ट आर्ट फ्यूजनको सहयोगमा कोरोना भाइरसका कारण जारी बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै प्रदेश १ स्तरीय प्रतियोगिता हुने भएको हो । जसमा ‘लकडाउनमा भइरहेका सकारात्मक पक्ष र कामहरु’ शिर्षकमा चित्र तयार गर्न तोकिएको छ ।  भदौ २५ देखि भदौ ३१ सम्ममा चित्र पठाइसक्नु पर्ने र त्यसपछि प्रतियोगिताको फाइनल मिति तय हुनेछ ।

जसमा प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने कला साहित्य प्रवद्र्धन समितिकी कोषाध्यक्ष, एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष प्राज्ञ सरोजा खड्गीले बताइन् । साथै उत्कृष्ठ एक छात्र र एक छात्राले फाइन आर्ट कलेज पथरीशनिश्चरेमा अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

एभरेष्ट आर्टले यसअघि नगरका २ स्थानको कालोपत्रे सडकमा कोरोना सचेतनाको पेन्टिङ तयार गरेर आफ्नो बार्षिकोत्सव फरक तरिकाले मनाएको थियो ।