• भोजराज श्रेष्ठ/धरान

फ्रेञ्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले हराउँदै छैटौं पटक जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग विजेता बनेको छ ।

सन् २०१२–१३ को सिजनबाट उपाधि जित्न नसकेको बायर्नले २५ वर्षपछि सेमिफाइनल पार गरेर इतिहास बनाएको पीएसजीको सपना चकनाचुर बनाइदिएको हो । दुई स्टार नेयमार जुनियर र केलियन एम्बाप्पेको सपनामाथि बायर्नले ५९ औं मिनेटमा किङ्ग्सले कोमनको गोलबाट ध्वस्त बन्यो ।

किङ्ग्सले ती खेलाडी हुन्, जसले आफ्नो व्यवसायिक फुटबलको क्यारियर पीएसजीबाटै सुरु गरेका थिए ।

विगतको आफ्नै क्लबमाथि उनले हेडमार्फत् गोल गरेका हुन् । जसले बायर्नको छैटौं पटक उपाधि जित्ने सपनालाई पनि पूरा गरेका छन् । पहिलो हाफमा पीएसजीले थुप्रै अवसर प्राप्त गरेको थियो । त्यो अवसरमाथि बायर्नका गोलरक्षक नेयुर बाधक बने । नेयमारको सानो डिबक्सबाट गरेको एउटा सुन्दर प्रहारलाई गोलरक्षक नेयुरले खुट्टाको साहाराले सुन्दर बचावट गरे ।

जुन गोल बायर्नका लागि निकै खतरापूर्ण बन्ने सम्भावना थियो । पीएसजी सन् १९९४–९५ को सिजनमा सेमिफाइनलसम्म पुगेको टिम हो । त्यसयता पहिलो पटक उपाधि होडमा पुगेको पीएसजीले बायर्नको सोलो जितलाई रोक्न सकेन । किनकि यस सिजनको च्याम्पियन्स लिगमा बायर्न मात्रै यस्तो एउटा टिम हो, जसले कुनै पनि खेल नहारीनै विजेता बन्न सफल भयो ।

च्याम्पियन्स लिगको फाइनलमा गोल मेसिनको रूपमा चित्रित गरिएको रोबर्ट लोवान्डोस्कीले गोल गर्न सकेनन् । उनले यस सिजनमा १५ गोल गरेका छन् । यो गोल रियल मड्रिडमा रहँदा क्रिष्टियानो रोनाल्डोले गरेको गोलभन्दा २ गोल कम हो । अझ स्मरणीय कुरा त बायर्नका प्रशिक्षक हान्सी फ्लिक गत नोभेम्बरमा अन्तरिम प्रशिक्षकको रूपमा प्रवेश गरेका थिए । बायर्नमाथि लगातार आर्थिक दबाव पर्न थालेपछि बायर्नका निवर्तमान प्रशिक्षक निको कोभाकलाई ‘टर्मिनेट’ गरिएको थियो ।

नोभेम्बरमा अन्तरिम प्रशिक्षक भएर नियुक्त भएपछि हान्सीलाई च्याम्पियन्स लिग जित्नु एक खाल्को दबाव नै थियो । जसले प्रमाणित गरिदिए । उनले भने, ‘बुण्डेसलिगा च्याम्पियन भएका हामीलाई निकै दबाव थियो, हाम्रो अन्तिम लक्ष्य नै च्याम्पियन्स लिग थियो ।’

च्याम्पियन्स लिगका खेलहरू हेर्दा पनि बायर्नले उपाधि जित्नेमा अनुमान गरिएको थियो । किनकि क्वार्टर फाइनल खेलमा स्पेनिस ला लिगामा बर्चश्व जमाउँदै आएको बार्सिलोनामाथिको ८–२ को जितले पनि त्यो संकेत गरेको थियो । त्यसपछि फ्रेञ्च क्लब लियोनमाथि ३–० को सानदार जित निकालेर उसले फाइनल यात्रा तय गरेको थियो ।

पीएसजीका लागि भने फाइनल खेल निकै खल्लो बनेको छ । २५ वर्षपछि उपाधि हत्याउने दाउमा मैदानमा उत्रिएको उसले चमत्कारिक खेलहरू पस्कन सकेन । फलतः यसअघि ६ पटक बायर्नमाथि जित निकालेको पीएसजीका लागि सहज बनेन । उक्त कुराको पुष्टि खेल समाप्तिपछि नेयमारको निराशाबाट प्रष्टिन्थ्यो । उनी निकै निराश देखिए । उनलाई धेरै खेलाडीहरूले सान्तवना दिइरहेको दृष्य देखिए ।

पीएसजीले च्याम्पियन्स लिग उपाधिकै लागि महँगो मूल्यमा केलियन एम्बाप्पे र नेयमारलाई भिœयाएका थिए । जुन हालसम्मकै कीर्तिमानी मूल्य हो । नेयमारलाई भिœयाउनका लागि पीएसजीले २२२ मिलियन युरो खर्च गरेको छ । यो हालसम्मकै सबैभन्दा बढी मूल्य हो । त्यस्तै एम्बाप्पेका लागि १३५ मिलियन खर्च गरेको थियो ।

पीएजसीमा रहेर नेयमारले पनि च्याम्पियन्स लिग जित्ने सपना पालेका थिए । किनकि यो समरमा उनी पुनः बार्सिलोना जाने चर्चा पनि ब्यापक छ । तर, पीएसजीका लगानीकर्ताले उनी पीएसजीमै रहने दाबी गरिसकेको छन् ।

यो उपाधिसँगै बायर्नले एउटा फरक इतिहास पनि रच्न सफल भएको छ । उसले पहिलो पटक उपाधि होडमा उभिँदै आएकाहरूलाई हराउँदै आइरहेको छ । सन् २०१२–१३ को सिजनमा उसले आफ्नै देशको बोरुसिया डर्टुमुनलाई हराउँदै उपाधि उचालेको थियो । च्याम्पियन्स लिगमा बायर्नले इङ्लिस क्लब लिभरपुलसँग बराबरी गर्न सफल भएको छ । हालसम्म सबैभन्दा बढी रियल मड्रिडले च्याम्पियन्स लिग जितेको छ । उसले १३ पटक उपाधि उचाल्दा इटालियन क्लब एसी मिलानले ७ पटक उपाधि जितेको छ ।

समग्रमा फाइनल खेलमा बायर्नले बल पोजिसनको आधारमा ६२ प्रतिशत आफ्नो पक्षमा पार्दा पीएसजीले ३८ प्रतिशत मात्रै रहेको थियो । गोल पोष्टमा बायर्नले १२ पटक प्रहार गर्दा पीएसजीले १० पटक प्रहार गरेको थियो । यता गोल लक्षित बल प्रहारका हिसाबले भने पीएसजी नै अगाडि देखिन्छ । उसले ३ पटक गोल पोष्ट लक्षित बल प्रहार गर्दा बायर्नले २ पटक मात्रै गरेको थियो ।

दुवै टिमले ४–४ पटक कर्नर प्रहार गरेका थिए भने फल खेल्नमा पनि बायर्न अगाडि छ । उसले २२ पटक फल खेल्दा पीएसजीले १६ पटक फल खेलेकाे थियो ।