धरान /  सरकारले भदौको तेस्रो साताबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने तयारी थालेको छ ।
भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी तयारी थालेको हो । त्यसका लागि पर्यटन मन्त्रालयले उडानको तालिका प्रकाशित गर्ने भएको छ । तर, अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरूले सात दिनसम्म क्वारेण्टिनमा बस्नुपर्ने भएको छ । सात दिनसम्म होटलको क्वारेण्टिनमा बस्ने प्रावधान बनाएको छ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर दुई सातासम्म होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गरेपछि मात्रै घर जान पाउने गरी नियम बनाएको छ ।

सरकारले यसअघि भदौबाटै अन्तर्राष्ट्रिय उडान गर्ने बताएको थियो । तर, दैनिक कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले तत्कालका लागि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । त्यस्तै सरकारले पीसीआर परीक्षण सहज नभएका मुलुकबाट भने नियमित उडानमार्फत् यात्रुहरू ल्याउन नपाउने नियम लगाएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायतका मुलुकमा पीसीआर परीक्षण सहज नभएकाले त्यहाँबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाउने निर्णय भएको जनाए । पीसीआर परीक्षण भएका र नभएकाहरूलाई एकै उडानमार्फत् ल्याउँदा सङ्क्रमणको जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताए ।

सरकारले पीसीआर परीक्षण सहज नभएका मुलुकबाट आउन चाहने यात्रुहरूको हकमा भने सम्बन्धित नेपाली कूटनीतिक नियोगको सफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाएको छ ।