भद्रपुर । भद्रपुर नगरपालिकाले जिल्ला बाहिरका मानिसको प्रवेशलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । आइतबारदेखि सात दिनका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाका अरु स्थानीय तहमा समुदायमै कारोना भाइरस सङ्क्रमण देखिएपछि सर्वपक्षीय प्रतिनिधित्व रहेको नगरको कोभिड १९ जोखिम व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेकोे नगर प्रमुख एवम समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्नैपर्ने अवस्थाका मानिसले टोल विकास संस्था, वडा समिति वा स्वास्थ्य शाखामार्फत नगरपालिकासँगको समन्वयमा भद्रपुर नगरपालिकाभित्र प्रवेश गर्न पाउने र प्रवेश गरेपछि पनि कम्तीमा ७ दिन होम क्वारेन्टिनमा बसी कोभिड १९ सम्बन्धी नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको उनले जनाए ।
यसैगरी, कोभिड १९ सम्बन्धी क्रियाकलाप र अत्यावश्यकबाहेकका नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह भइरेका सेवाहरु पनि बन्द गरिएको, साप्ताहिक हाट बन्दलाई निरन्तरता दिइएको, भद्रपुरमा रहेका सङ्घीय तथा प्रदेशस्तरीय कार्यालयहरुमा देखिएको भीड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, उद्योग प्रतिष्ठानहहरु कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न उद्योग प्रतिष्ठानहरुलाई सचेत गराइएको लगायतका ९ बुँदे निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।
बैठकले औषधि पसल र स्वास्थ्य प्रतिष्ठानबाहेक सबै व्यापार व्यवसाय सामाजिक दूरी राखी साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने, सीमापारिबाट अवैध ढङ्गले हुने सामान ओसारपसार र मानिसको आवागमन पूर्ण रुपमा नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनलाई थप सहयोग गर्ने निर्णय गरेको छ ।
निर्णय पालना भए नभएको बारे समितिले निरन्तर अनुगमन गर्ने र उल्लङ्घन भएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि बैठकको निर्णयमा उल्लेख गरिएको छ ।