धरान । धरानको व्यवसायिक प्रतिष्ठान वराह ग्रुपले २६ औं वार्षिकोत्सवको अवसरमा अग्रभागमा कार्यरत विभिन्न संघसंस्थालाई मास्क, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।
वराह २०५२ भदौ ५ गते धरानबाट सुरु भएको हो । दिवंगत इन्द्रबहादुर लामिछानेको परिकल्पनामा सुन व्यवसायबाट सुरु भएको वराह हाल देशविदेशमा समेत सञ्चालित छ। विगत वर्षहरूमा रक्तदानसहित विभिन्न सामाजिक काम गर्दै आएकोमा यस वर्ष कोरोना भाइरसको महामारीका कारण विधिवत कार्यक्रम गरी समापन गरिएको छ ।
यसक्रममा अग्रभागमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, चिकित्सक तथा पत्रकारलाई मास्क, सेनिटाइजर र पञ्जा वितरण गरिएको वराह ग्रुपका सञ्चालक मानबहादुर विकले बताए । वराहले इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल फुस्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पताल र नेपाल पत्रकार महासंघ सुनसरीलाई सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सामग्री हस्तान्तरण गरे । प्रमुख राईले व्यवसायिक प्रतिष्ठानको पहिलो उद्देश्य नाफा कमाउने नै भए पनि वराहले सामाजिक क्षेत्रमा पनि उत्तिकै भूमिका निर्वाह गर्ने गरेको बताए । उनले कोरोना महामारीका बेला सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरे ।