धरान/ युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुई च्याम्पियनहरू बायर्न म्युनिख र पेरिस सेण्ट जर्मेन (पिएसजी) आमने–सामने भएका छन् ।

बायर्न जर्मनको बुण्डेस लिगा च्याम्पियन हो भने पिएसजी फ्रान्सेली लिग वान विजेता हो । बायर्न छैठौं पटक च्याम्पियन लिगको उपाधि होडमा छ भने पिएसजी पहिलो पटक उपाधि नजिक छ । बायर्नले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोनालाई ८–२ ले हराएर यसपटक नयाँ इतिहास रच्दै आफ्नो लय समातेको छ ।

यता २५ वर्षपछि सेमीफाइनल हुँदै फाइनलमा पुगेको पिएसजीले पनि इतिहास रचेको छ । उसलाई थप दबाव छ । च्याम्पियन्स लिगमा पहिलो पटक एउटै लेगबाट फाइनल पुगेका छन् । जर्मन क्लब बायर्नले फाइनलमा पुग्नका लागि फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेको थियो ।

बिहीबार बिहानको राति सम्पन्न खेलमा बायर्नका सर्ज जिनाब्रीले दुई गोल गर्दा गोल मेसिन रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बायर्नले १८ औं मिनेटबाट शुरुवाती अग्रता कायम गरेको थियो । पुनः ३३ औं मिनेटमा गोल गर्दै बायर्नले जित निश्चित गरेको थियो । ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ३–० को स्पष्ट जित दिलाए ।

यता पिएसजीले पनि जर्मन क्लब आरबी लाइप्जिगलाई ३–० गोल अन्तरले नै हराएको थियो । आरबी आइप्जिग जर्मनको तेस्रो नम्बरको क्लब हो । पिएसजीका मार्किन्हस, एञ्जल डी मारिया र जुआन बर्नाटले गोल गरेका थिए । घरेलु लिगमा यी दुई टोलीले एक छत्र राज गर्दै आएका छन् । दुवै टोली यो सिजनमा उपाधि हत्याउँदै सुखद् अन्त्यको सपना देखिरहेका छन् ।

घरेलु लिगसहित अन्य खेलको तुलना गर्ने हो भने पिएसजीभन्दा बायर्न नै अगाडि छ । बायर्नले ४४ खेल खेल्दै १ सय ४२ गोल गरेको छ भने पिएसजीले ३७ खेलबाट एक सय २ गोल गरेको छ । कोरोना कारण घरेलु लिग बीचमै रद्द भएका कारण पिएसजीले सबै खेल खेल्न पाएन ।

च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरिसकेका छन् । उनले फाइनलमा दुई गोल गरेमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोसँग बराबरी गर्दै कीर्तिमान बनाउनेछन् । हालसम्म एकै सिजनमा च्याम्पियन्स लिगमा रोनाल्डो नै अगाडि छन् । उनले १७ गोल गरेका छन् । बायर्न र पिएसजी समूह चरणमा मात्रै यी दुई टोलीको भेट भएको छ । जसमा पिएसजीले पाँच पटक जित्न सफल भएको छ भने बायर्नले तीन पटक मात्रै जितेको छ ।

पिएसजीले यस वर्ष चारवटा उपाधि जितिसकेको छ । सिजनको शुरुवातमा फ्रान्सेली सुपर कप, फ्रेन्च कप, फ्रेन्च लिग कप जितेको छ । च्याम्पियन्स लिग जितेमा यो वर्ष पाँच पटक उपाधि जित्दै नयाँ इतिहास रच्ने भएको छ ।

यता बुण्डेस लिगामा एक छत्र राज गर्दै आएको बायर्नले सन् २०१३/१४ यता च्याम्पियन्स लिग जित्न सकेको छैन । उसले पाँच पटकसम्म उपाधि जितिसकेको छ । पछिल्लो पटक सन् २०१३÷१४ को सिजनमा उपाधि उचालेको थियो । उपाधिका लागि भिडन्त अगष्ट २४ मा पोर्चुगलको राजधानी लिस्वनको रङ्गशालामा हुँदै छ ।