उदयपुर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०७६/०७७ मा करिब दुई करोड बराबर राजस्व सङ्कलन गर्न सफल भएको छ ।
जिल्ला ट्राफिकका अनुसार एक करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्लाका विभिन्न स्थानबाट ट्रक, बस, जिप, कार, भेन, ट्याक्टर, मोटरसाइकल, सिटी आटो लगायतका १५ हजार ७ सय ५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन तथा चालकमा मोटरसाइकल, ट्रक र जिप, कार, भेन रहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको माघ महिनामा सबैभन्दा बढी २ हजार ५० वटा सवारी साधन तथा चालकले ट्राफिक नियम उल्लङ्घन गरेको देखिएको छ भने राजस्व पनि बढी सङ्कलन भएको देखिएको छ ।
साउन महिनामा साना तथा ठूला १ हजार १ सय ५० वटा सवारी साधन कारबाहीबाट ७ लाख ३० हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै भदौमा १ हजार ५ सय वटा सवारी साधन कारबाहीबाट ९ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै असोजमा १ हजार ३ सय ४० वटा सवारी सधान कारबाहीबाट ८ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ भने कात्तिकमा १ हजार ४ सय सवारी सधान कारबाहीबाट ९ लाख २ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै मङ्सिरमा १ हजार ७ सय ८० वटा सवारी साधन कारबाहीबाट १० लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ भने पुसमा १ हजार ९ सय ५० वटा सवारी साधन कारबाहीबाट १३ लाख २४ हजार राजस्व सङ्कलन भएको हो । त्यस्तै माघमा माघ २ हजार ५० वटा सवारी कारबाहीबाट १३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने फागुनमा २ हजार वटा सवारी साधन कारबाहीमा १३ लाख ३२ हजार ५ सय राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै चैत्रमा ६ सय ५० वटा सवारी साधन कारबाहीमा ४ लाख १५ हजार ५ सय राजस्व सङ्कलन भएको छ भने वैशाखमा ५० वटा सवारी साधन कारबाहीबाट ३३ हजार ५ सय राजस्व सङ्कलन भएको छ । त्यस्तै जेठमा ३ सय ५० वटा सवारी साधन कारबाहीमा २ लाख ९ हजार राजस्व सङ्कलन भएको छ भने असारमा १ हजार ५ सय ५० वटा सवारी साधन कारबाहीमा ९ लाख ४ हजार राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।
गत तीन वर्षको ट्राफिक कार्यालयको तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४/७५ मा साना तथा ठूला २२ हजार ५ सय ६४ वटा सवारी साधन कारबाहीबाट ८१ लाख ५० हजार राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै आ.व. २०७५/७६ मा साना तथा ठूला १४ हजार २ सय ५५ वटा सवारी साधन कारबाहीमा ९४ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ । कोरोनाको महामारी बीच पनि गत आर्थिक वर्ष २०७६/७७ मा साना तथा ठूला १५ हजार ७ सय ५० वटा सवारी साधन कारबाहीमा १ करोड ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक कार्यालय गाईघाटले जनाएको छ ।
आ.व.२०७४/७५ मा ३ हजार ८ सय ७१ वटा ट्रक, ७ सय ३८ वटा बस, २ हजार ५ सय २५ वटा जिप कार, भेन, १ हजार ३ सय ५२ वटा ट्याक्टर, ४ हजार १ सय ५ वटा मोटरसाइकल र ४ सय ८० वटा सिटी, अटो कारबाहीमा परेको छ । सोही सवारी साधन कारबाहीबाट ८१ लाख ५० हजार राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै आ.व. २०७५/७६ मा ४ हजार १ सय ६३ वटा ट्रक, ७ सय ७५ वटा बस, २ हजार ६ सय २७ वटा जिप, कार, भेन, २ हजार ५ सय ६३ वटा ट्याक्टर, ३ हजार ९ सय ५६ वटा मोटरसाइकल र १ हजार २ सय ११ वटा सिटी, अटो कारबाहीमा परेको छ भने सोही सवारी साधन कारबाहीबाट ९४ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।
गत आ.व. २०७६/७७ मा ३ हजार ८ सय १ वटा ट्रक, ७ सय ७६ वटा बस, २ हजार ९ सय ३७ वटा जिप, कार, भेन, १ हजार ४ सय ३६ वटा ट्याक्टर, ५ हजार १ सय २० वटा मोटरसाइकल र १ हजार ६ सय ९० वटा सिटी, अटो कारबाहीमा परेको छ भने सोही सवारी साधनबाट १ करोड ९४ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको पुरानो बजार अर्थात् सगरमाथाको द्वार तथा सोलु, खोटाङ र ओखलढुङ्गाको नाका भनेर चिनिएको कटारी बजार, घुर्मी, बेलटार, रामपुर, गाईघाट लगायतका ठाउँहरूबाट ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारी साधनबाट राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।