धरान/ सुरक्षाकर्मीहरूमा पनि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि ‘ड्युटी’ नियममा फेरबदल गरिएको छ ।

कतिपय सुरक्षाकर्मीलाई ‘घरबाटै काम गर्ने सुविधा’ दिन थालिएको छ । कोरोना भाइरसबाट प्रदेश १ मा मङ्गलबारमात्रै ४४ जना सुरक्षाकर्मी सङ्क्रमित बनेका छन् । दिनानु दिन सङ्क्रमित बढ्न थालेपछि नेपाल प्रहरीले सुरक्षाकर्मीलाई अन्य क्षेत्रको भन्दा फरक तरिकाले ‘घरबाटै काम गर्ने गरी सुविधा’ दिन थालेको प्रहरी उच्च अधिकारीले बताएका छन् ।

शान्तिसुरक्षाका लागि तैनाथ रहेका प्रहरीलाई घरबाट कार्यस्थलमा जाने र घरमै फर्किने गरीको सुविधा प्रदान गर्न लागिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका प्रहरीहरूमा कोरोना सङ्क्रमण दर बढ्दै जान थालेपछि नयाँ नीति अख्तियार गरिएको हो ।

हालसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत १ हजार एक सय जनाभन्दा बढी सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्म ४ सय ७१ जना सुरक्षाकर्मी सङ्क्रमणमुक्त बनिसकेको जनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले बीबीसी नेपाली सेवासँग कुरा गर्दै सुरक्षाकर्मीमा भाइरस सङ्क्रमण देखिन थालेका कारणले त्यसलाई नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न उपाय अपनाउने क्रमम यो नयाँ ढाँचा प्रयोग गरिन लागिएको बताए ।

प्रहरीलाई घरबाटै सोझै कार्यस्थलमा जाने सुविधाले कोरोना सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न सहज हुने अनुमान गरिएको छ । यो नेपालभरिका प्रहरीको हकमा भने लागू गरिएको छैन । निश्चित क्षेत्रका प्रहरी कर्मचारीलाई यो व्यवस्था मिलाएर काममा पठाउन थालिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा सहज होस् भन्ने उद्देश्य नै प्रमुख रहेको उनले जनाएका छन् । सोमबारको तथ्याङ्कसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा कोरोना सङ्क्रमित धेरै रहेका छन् । सोमबारसम्म ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ५१ जना कोरोनामुक्त बनेर घर फर्किसकेका छन् । सशस्त्र प्रहरीका प्रवक्ताले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार मङ्गलबार बिहानसम्म २ सय ९१ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसमध्ये एकसय ३६ जना निको भएर घर फर्किएका छन् । त्यस्तै नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सोमबारसम्म २ सय ४६ जना सैनिकलाई सङ्क्रमण भइसकेको छ । हालसम्म ८४ जना मात्रै निको भएर फर्किएका छन् । कोरोना भाइरसबाट मृत्यु हुने शवको व्यवस्थापक भने नेपाली सेनाले गर्दै आएको छ । त्यस्तै क्वारेन्टिन, आइसोलेसनलगायतमा पनि नेपाली सेनाले सुरक्षार्थ प्रदान गर्दै आएको छ ।

पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । मङ्गलबार मात्रै १ हजार १६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । त्यस्तै सुरक्षाकर्मीको सङ्ख्या पनि बढ्दै गएको छ । जसले गर्दा सुरक्षार्थ खटिएका कर्मचारीहरूलाई नयाँ ड्युटी अवधारणा विकास गरिएको हो । यता सशस्त्र प्रहरीमा भने यो व्यवस्था लागू नभएको जनाइएको छ ।