यासोक/ पाँचथरको कुम्मायक–कुसायक धार्मिकस्थलमा पर्यटन प्रवद्र्धन गर्न एक करोड बढी लगानी गरिएको छ । जिल्लाको कुम्मायक गाउँपालिका केन्द्रमा रहेका कुम्मायक–कुसायक धार्मिकस्थलको स्तरोन्नतिको लागि सो बजेट खर्च भएको हो ।

धार्मिकस्थलको भौतिक पूर्वाधार निर्माण गर्न २०७४ सालदेखि हालसम्म १ करोड २६ लाख ५० हजार रुपैयाँ लगानी भएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षण गर्ने उद्देश्यले दुवै धार्मिकस्थलमा पूर्वाधार निर्माण भएको हो । स्थानीय र प्रदेश सरकारले धार्मिकस्थलको संरक्षण र सम्बद्र्धन गर्दै आएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।

कुम्मायक धार्मिकस्थलमा यासोक, रानीगाउँ र स्याबरुम्बाबाट प्रवेश गर्ने तीनवटा बाटोमा सिँढी निर्माण गरिएको छ । मन्दिर वरिपरि रेलिङ, र मन्दिरको मर्मत सम्भार गरिएको छ । जुन संरचना तयार गर्न १ करोड ११ लाख खर्च भएको छ । त्यस्तै कुसायक धार्मिकस्थलमा पदमार्ग निर्माण, सोलिङ र रेलिङ निर्माणमा हालसम्म १५ लाख ५० हजार खर्च भएको लावतीको भनाइ छ ।

सङ्घीय संरचनाअनुसार कुम्मायक धार्मिकस्थलकै नामबाट कुम्मायक गाउँपालिका नामकरण गरिएको छ । बजारको दुवैपट्टि अग्ला टापुजस्तै रहेका धार्मिकस्थलबाट सगरमाथा, कञ्चजङ्घा र कुम्भकर्ण जस्ता विभिन्न हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ । कुम्मायक–कुसायक धार्मिकस्थलमा पूजा–आजा गर्नाले मनोकामना पूरा भएकाले कुम्मायक–कुसायक आउने गरेको भारतको दार्जिलिङका दिलिपकुमार केरुङले बताए ।

बर्सेनि तीन वर्षमा लाग्ने त्रिशाली मेला र पूजा कोरोना भाइरसका कारण स्थगित भएको सुन्दा खल्लो महसुस भएको ब्लाष्टसँगको टेलिफोन संवादमा केरुङले बताए । यसअघि भारतको सिक्किम प्रदेशका मन्त्रीसहितको एक टोलीले धार्मिकस्थलको भ्रमण गरेको थियो । त्यसयता कोरोना भाइरसको जोखिमका कारण पर्यटकहरू आउन छोडेको स्थानीयले बताएका छन् । धार्मिकस्थलमा लाग्ने त्रिशाली मेला र पूजामा भुटान, बर्मा, भारत लगायत देशका विभिन्न स्थानबाट भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

गाउँपालिकाको समृद्धिको आधार पर्यटन भएकाले दुवै धार्मिकस्थलको संरचना निर्माण गाउँपालिका र प्रदेश सरकारले गर्दै आएका छन् । प्रत्येक वर्ष धार्मिकस्थलमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण काम पनि हुँदै आएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा २० लाख र प्रदेश सरकारको २० लाख गरी ४० लाख रुपैयाँ पूर्वाधार निर्माणको लागि विनियोजन गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यसले कुम्मायक–कुसायक धार्मिकस्थलमा पर्यटन प्रवद्र्धन गर्ने आधार बनेको छ । धार्मिकस्थलको पूर्वाधार निर्माण र प्रचार–प्रसारको लागि गाउँपालिकाले यो वर्ष पनि उच्च प्राथमिकताको साथ काम गर्दै आएको चेम्जोङको भनाइ छ ।