- बसन्त लिम्बू
ताप्लेजुङ / ठेकेदारको चरम लापरवाहीका कारण ताप्लेजुङका दुई स्वास्थ्य चौकी भवन ६ वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा स्वास्थ्य चौकी भवन अलपत्र परेको हो । निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता भएको भए पनि ६ वर्ष वितिसक्दा समेत भवनको बन्ने टुङ्गो छैन ।
दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो । हिमालयन विल्डर्स प्रालि जोरपाटी काठमाडांै र कविर कन्ट्रक्सन प्रालि काठमाडौं (जेभी)ले ठेक्का पारेको थियो । हाङपाङ स्वास्थ्य चौकी भवनको १ करोड ९१ लाख र चाँगे स्वास्थ्य चौकीको २ करोड २ लाखको ठेक्का थियो । प्रालिका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए । कार्की तेह्रथुम सदरमुकामस्थित सिंहबाहिनी उच्च माविमा कार्यरत शिक्षकसमेत हुन् ।
यता ठेकेदार किसोर शेर्पाले भने भदौ १५ गतेदेखि काम थाल्ने बताए । ‘केही आन्तरिक समस्याका कारण निमार्ण कार्य रोकिएको छ ।’– शेर्पाले टेलिफोनमा भने– ‘स्थानियलाई केही तिरोभारो पनि छ । त्यो पनि मिलाउँछै र भदौ १५ देखि काम थाल्छाँै ।’