भद्रपुर/ भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको खुला सीमा झापामा १ सय ४४ किलोमिटर पर्छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये उत्तरको तिरिङदेखि दक्षिणको गौरीगञ्जसम्मको सीमा नाकासँग मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोडिएको छ ।
सीमा क्षेत्रमा कोरोना सङ्क्रमण जोखिम रोक्न बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल–भारत सीमा बन्द गरिएको झण्डै पाँच महिना पुग्न लाग्यो । नाकाबाट हुने अवैध चोरी निकासी र पछिल्लो समय कोरोना जोखिम रोक्न अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने नागरिकहरूको समेत निगरानीको काम थप भएको छ । खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १५ सय सुरक्षाकर्मी तैनाथ छन् ।
यतिका सुरक्षाकर्मी हुँदाहुँदै पनि सीमावर्ती क्षेत्रबाट अवैध चोरी निकासी व्यापार भने दिनानु दिन बढ्दै गइरहेको छ । दिनमा भन्दा पनि रात्रीकालीन व्यापार रोकिन नसकेको अवस्था छ । सीमा नाका बन्द भए पनि नेपालमा प्रतिबन्धितलगायतका भारतीय उत्पादन नेपाली बजारमा पर्याप्त मात्रामा भेटिन्छन् । सामान नेपाल छिरेपनि भन्सार राजश्व ४० प्रतिशतसम्म गिरावट भएको अवस्थाले अवैध तरिकाले हुने व्यापार भने दिनानु दिन बढ्दै गइरहेको पुष्टि हुन्छ ।
वैध बाटोबाट सीमित सामग्री आइरहेको झापाका व्यापारिक नाकाभन्दा गल्ली र गौंडाबाट अवैध सामग्री भित्रिने बेला– बेलामा प्रहरीले बरामद गरेको घटनाले पनि प्रमाणित गरेको छ । बाहुनडाँगी, नकलबन्दा, ज्यामिरगढी, दक्षिण–पश्चिम भद्रपुरका विभिन्न गौंडाहरू, पाठामारी, केचना, घेराबारी, पिण्डलबारी कुमरखोद, झापा, टाँगनडुब्बा, गौरीगञ्जलगायत दर्जनबढी स्थानबाट अवैध सामग्री भित्रिने गरेको छ ।
सीमामा खटिएका प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलिभगतमा भारतबाट नेपालतर्फ सुर्तीजन्य पदार्थ, युरिया मल, कपडा, मेसिनरी पार्टपुर्जा, विभिन्न कीटनाशक औषधि, चप्पल, जुत्ता भित्रिरहेको छ भने सुपारी, चुरोट, ओखर, विभिन्न कस्मेटिक सामान, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठलगायत सामग्री भारततर्फ गइरहेको सीमावर्ती क्षेत्रका स्थानीयको दाबी छ ।
नेपालमा ल्याउन प्रतिबन्धित रहेका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनीजस्ता सुर्तीजन्य पदार्थ अवैधरूपमा भित्रिएर झापाका बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ । राजश्व छलेर व्यापारिक समूहले नेपाल ल्याएका यस्ता सामग्री बजार मूल्यभन्दा चारगुणा बढीसम्ममा बिक्री गरे पनि प्रहरी प्रशासनले कुनै चासो राखेको पाइँदैन ।
केही दिनअगाडि झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अञ्जु किराना पसलको गोदाममा प्रहरीले छापा मारेर राजश्वको स्टिकर नभएको तथा भारतबाट भन्सार छलेर अवैधरूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । यस्तै गत बुधबार सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय सुनसरीको निर्देशनमा इलामको पशुपतिनगर हँुदै दुईवटा भेनमार्फत् ल्याइएको नेपालमा प्रतिबन्धित १ सय १३ कार्टुन रेडबुल डिआइजी कार्यालयको टोलीले झापामा बरामद गरेको थियो ।
यी प्रतिनिधिमूलक घटनाले पनि झापा नाका तस्करका लागि सहज तथा अनुकूल रहेको कारण राजश्व तिर्नेभन्दा छली गर्ने समूह बढ्दै गएको प्रष्ट हुन्छ । जनपथ र सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरिरहेको बताउने गरे पनि तस्करी झन् मौलाउँदै गइरहेको छ ।
तस्करको प्रहरीमाथि खेल
एउटा समूहले तस्करी गर्न पाएन भने सीमामा खटिएका प्रहरीलाई तस्करसँग मिलेको भन्दै विभागमा रिपोर्ट गरेका कारण पनि प्रहरीको छविमाथि आँच पु¥याउने काम तस्करले नै गर्दै आइरहेका छन् । दुई हप्ताअघि केचना र पृथ्वीनगरमा कार्यरत सशस्त्र प्रहरी बिओपीका इन्स्पेक्टर र सीमा प्रहरी केचनाका असइ छानबिनमा परेको घटना सार्वजनिक भयो । घटनाको छानबिन प्रमाणित नभएपछि सशस्त्रका प्रहरी हाल सरुवा भएर अर्को स्थानमा कार्यरत छन् भने असइ सोही चौकीमा छन् । तर नाकामा तस्करी भने यथावत् नै छ ।
नेपालमा युरिया मलको अभाव भएपछि भारतको सुखानी हुँदै केचनाका सीमा क्षेत्रका स्थानीयले भारतबाट भारतीय ६ सय रुपैयाँमा प्रतिबोरा युरिया मल ल्याएर घरमा राख्ने गरेका छन् । बजारमा मल नपाएपछि बिर्तामोड, भद्रपुर, काँकडभिट्टालगायतका क्षेत्रबाट मोटरसाइकल तथा साइकलमा गएका कारोबारी तथा किसानले प्रतिबोरा १५ सय नेपाली रुपैयाँमा खरिद गर्दै ल्याइरहेका छन् ।
कारोबारीले खरिद गरी ल्याएको मल बजारमा प्रतिबोरा २५ सयसम्ममा बिक्री हुने गरेको छ । त्यसैगरी बाबा खैनीलगायत सुर्तीजन्य पदार्थ घेराबारीको मरिच बगान दुर्गाभिट्टा हुँदै हल्दीबारी जलथलको भित्री सडक प्रयोग गरी अधिकारी चौक भएर बिर्तामोड जाने गरेको छ । दैनिक ८–९ वटा मोटरसाइकल मार्फत् तस्करी हुँदै आइरहे पनि सुरक्षाकर्मीले देखेका छैनन् ।
नेपाली बजारमा जताततै पाइने प्रतिबन्धित सामानलगायत भारतीय उत्पादनको विषयमा झापाका २ नम्बर गणका सूचना अधिकृत एवम् डिएसपी द्रोणविक्रम साहले प्रहरीले देखेसम्म सामान बरामद गर्दै आइरहेको बताउँछन् । ‘तपाईंहरूको लेखाइ कस्तो हुने हो, त्यो थाहा छैन तर सीमामा अवैध गतिविधि रोक्ने प्रयास जारी राखिएको छ’–उनले दाबीका साथ भने ।