पथरीशनिश्चरे / दोहोरो स्वामित्वको जग्गा भन्दै व्यक्तिको जग्गामा कालोझण्डा गाडेर असुरक्षा सिर्जना गरेको अभियोगमा संघर्ष समितिका अध्यक्ष पक्राउ परेपछि मोरङको पथरीशनिश्चरे नगरका सुकुम्वासीहरुले उनको निसर्त रिहाईको माग गर्दै नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयमा आइतबार धर्ना दिएका छन् ।

पथरीशनिश्चरेस्थित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौसम लिम्बूलाई शनिवार इलाका प्रहरी कार्यालय पथरीले पक्राउ परी मुद्धा दर्ताका लागि म्याद थप गरेपछि सुकुम्बासीहरु भेला भएर नगरमा केही बेर धर्ना दिइ नाराबाजी समेत गरेका थिए ।

केही समयपछि नगर प्रमुख दिलीपकुमार राई सहितका कार्यपालिका सदस्यहरुसँग प्रतिनिधिमुलक भेटघाट गरी ज्ञापनपत्र बुझाएका थिए । दोहोरो स्वामित्व भएको वडा नम्वर ३ को जग्गामा जग्गा किन्ने इश्वरी सापकोटा पक्षले त्यहाँ बसोबास गर्दै आएका ३ परिवारलाई उठाउने षडयन्त्र गर्न लागेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जग्गाबाट ३ परिवारलाई उठाउन नहुने र पक्राउ अध्यक्षको विनासर्त रिहाईको माग ज्ञापनपत्रमा उल्लेख छ । समितिका सचिव कुबेरमान घतानीले ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

ज्ञापनपत्र बुझिसकेपछि नगर प्रमुख राईले लामो समयदेखि नगरमा रहेको दोहोरो स्वामित्वको समस्यालाई सरकारी आयोगमार्फत समाधान गरिने बताउँदै कसैले कसैको जग्गा हडपेको भए छानविन गरी जोतभोग गर्नेको पक्षमा फैसला हुने जनाए । अर्कातर्फ दोहोरो स्वामित्व नभएका जग्गाको हकमा भूमि आयोगले कोरोनाको कहर हटेपछि तत्काल काम थाल्ने बताएको उनले प्रष्ट्याए ।

ईश्वरी सापकोटालाई धाकधम्की दिएको उजुरीको आधारमा लिम्बू पक्राउ परेपछि सुकुम्बासीहरुले शनिबार साँझ करिब २ घण्टा इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । सापकोटाको सिमानामा पर्ने मित्रलाल राई, सुमिल योङहाङ लिम्बू र गंगा गहतराजलाई उठाउन लागिएको सुकुम्बासी पक्षको आरोप छ । सुकुम्बासी संस्थाले साउन २८ गते प्रेस बिज्ञप्ति प्रकाशन गरि साउन २९ मा सापकोटा परिवारको जग्गामा कालो झण्डा गाड्ने घोषणा गरेको थियो । इश्वर सापकोटाले भने आफू घरमा नभएको बेला बृद्ध बाबुआमालाई र आफूलाई फोनमा जग्गा फिर्ता पास नगरे जे पनि गर्न सक्ने भन्दै केही युवाहरु समेत आइ जग्गा र घरमा कालोझण्डा गाडेर धम्क्याएपछि आफु असुरक्षित महसुस गर्दै प्रहरीमा उजुरी दिएका थिए । तर आफ्नो जग्गा अरुले भोगचलन गरेको भनेर नभनेको सापकोटाले बताउँदै आएका छन् ।

घट्ना विवरण अनुसार ३ नम्वर वडाको सिरिजंङ्गा चोकका इश्वरीका बाबु अभिकेशर साप्कोटाले २०५४ सालमा त्यहाँ एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । त्यो बेला ननापी फिल्ड देखाएकै भरमा जग्गा खरिद बिक्री भएको थियो । सापकोटा परिवार छुटिने क्रममा नाप्दा ९ कट्ठा जग्गा पुगेन ।

जग्गा भोगचलनको अवस्था के कस्तो छ भनि नगरपालिकाले नगरवासीका लागि आव्हान गरेको सूचनामा आफ्नो जग्गा अपुग भएको जानकारी सहित फारम भरेका थिए । तर अरु कस्कोमा परेको भनेर आफुलाई थाहा नभएको अवस्थामा कसैलाई केही नभनेको बेला छिमेकी ३ जनाको नाम हालेर मौसमले आफुलाई अनाहकमा तनाव सिर्जना गराएको इश्वरीको भनाई छ ।

घरमा गएर धम्क्याउँदै कालोझण्डा गाडी जग्गा कब्जा गर्न खोजेर तनाव सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय अन्तर्गत अभद्र व्यवहार मुद्धामा मौसमलाई आइतबार म्याद थप भएको पथरी प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले जनाए ।