धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै नियुक्त भएका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता गणेश भण्डारीले प्रतिष्ठानकै नियमावलीको नियम ८ (१) अनुसार तोकेको अनुभव र शैक्षिक योग्यता नपुग्ने भन्दै बदरको माग गर्दै आइतबार रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदन दर्ता गराएलगत्तै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कैफियत माग्ने फैसला सुनाउँदै मुद्दालाई अगाडि बढाएको छ । डा. रेग्मी बीपी प्रतिष्ठानको प्रसूति विभागका विभागीय प्रमुख रहेका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले तीन जनाको नाम सह–कुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा उनलाई नियुक्ति दिइएको थियो । नियुक्ति दिएलगत्तै उनलाई जिम्मेवारी दिइएको थियो ।

तर, अधिवक्ता भण्डारीले शैक्षिक योग्यता र नियमावलीले तोकेअनुसारको अनुभव नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै साउन २५ गते रिट निवेदन दर्ता गराएका थिए ।