विराटनगर/ विराटनगरमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको छ । मङ्गलबार रातिसम्म विराटनगरमा ३ सय ६३ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये चार जनाको मृत्यु भएको छ । दुई साता अघिसम्म निश्चित भूगोल र पेशाकर्मीमा मात्रै सीमित सङ्क्रमण यतिबेला विराटनगरको हरेकजसो क्षेत्रमा देखापरेको छ ।
मङ्गलबार विराटनगर महानगरपालिकाभित्र ५० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये २९ पुरूष २१ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मङ्गलबार थपिएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मको धरै हो ।
गत असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै विराटनगरमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदै गएको छ । अहिले देखिएका सङ्क्रमितहरू ट्राभल हिस्ट्री नभएका र क्वारेण्टिन बाहिरका मानिस देखिन थालेका छन् । दुई साताभित्र प्रदेश प्रहरीमा कार्यरत प्रहरी, पत्रकार, चिकित्सक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
न्यायाधीश, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी प्रदेशका उच्च पदाधिकारीमा भएको सङ्क्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै सङ्क्रमण समुदायसम्म पुगेको छ । उनीहरूलाई देखिएको सङ्क्रमणको ट्राभल्स हिस्ट्री पत्ता नलग्दा कहाँबाट फैलियो सङ्क्रमण भन्ने पत्ता लागउन गाह्रो भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
ट्राभल्स हिस्ट्री नभएका सङ्क्रमितको सङ्ख्या बढेर समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि नियन्त्रण र रोकथामको लागि भन्दै विराटनगर महानगरपालिकाभित्र साउन ३० गतेसम्म लकडाउन गरेको छ । लकडाउन गरी परीक्षणको दायरा बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि वृद्धि भएको छ । हालसम्म विराटनगरमा ३ हजार ९ सय २९ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।
एउटै वडामा ५७ जना सङ्क्रमित
विराटनगर महानगरपालिकाको सबैभन्दा बढी ९ वडामा सङ्क्रमित देखिएको छ । सो वडाभित्र मङ्गलबार रातिसम्म सङ्क्रमितको सङ्ख्या ५७ जना पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ ।
सङ्क्रमितमध्ये त्यही वडाका दुईजना पुरूषको मृत्यु भइसकेको छ । तीव्र रूपमा सङ्क्रमण फैलिइरहेकोले आइतबार रातिदेखि ७२ घण्टाको लागि स्थानीय प्रशासनले सिल गरेको छ । सङ्क्रमितको सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै पीसीआर परीक्षणको दायरा बढाएर सङ्क्रमण नियन्त्रण गर्न उक्त वडा सिल गरिएको हो ।
सोमबारसम्म विराटनगर–१२ मा ४१, ६ मा २९, ५ मा २४, ७ मा २४, ३ मा २२, २ मा १७, ११ मा १६, १० मा १५, १७ मा १५, १५ मा १४, ८ मा १४, ४ मा १२, १३ मा ९, १४ मा ६ तथा १, १६ र १८ मा एक–एक जनामा सङ्क्रमण देखिएको छ । विराटनगर–१९ मा हालसम्म कोरोना देखिएको छैन । सङ्क्रमितमध्ये ९० वर्षीया वृद्धासहित ६९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् ।
कुन अस्पतालमा कति सङ्क्रमित ?
विराटनगरका सानादेखि ठूला अस्पतालका प्रायः चिकित्सकदेखि कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालमा हालसम्म १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक जना डाक्टर, ७ जना नर्स, ३ जना सफाइ कर्मचारी, दुई जना प्राविधिक र अन्य प्रशासनका कर्मचारी छन् ।
यस्तै विराट नर्सिङहोम (विराटनगर अस्पताल) का एक सेवाग्राहीसहित १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित हुनेमा तीनजना डाक्टर र पाँचजना स्टाफ नर्स छन् भने अरू प्रशासनका कर्मचारी हुन् ।
न्यूरो अस्पताल विराटनगरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा पाँच स्टाफ नर्स, एकजना डाक्टर र एक जना सफाइ कर्मचारी र एकजना सेवाग्राही छन् । गोल्डेन अस्पतालमा दुई स्वास्थ्यकर्मी र एकजना प्रशासनका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मोरङ सहकारी अस्पतालका पाँचजना कर्मचारीमा कोरोना देखिएको छ । नोबेल मेडिकल कलेजमा दुई जना डाक्टरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई डाक्टरलाई कोरोना देखिएपछि नोबेल मेडिकल कलेजले ओपीडी सेवा बन्द गरेको छ । विराटनगरको म्याक्स अस्पालका दुई सेवाग्राहीमा कोरोना देखिएको छ ।