भद्रपुर / अबैध रुपमा भारतबाट ल्याउँदै गरेको ओरियन कम्पनीको अठार लाख मूल्यबढीको सामान प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ओरियन कम्पनीको सामान सोमबार मध्यराति बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

८ सय ८२ वट्टामा रहेको १८ लाख ७९ हजार ६ सय मूल्य बराबरको ओरियन कम्पनीको सामान बरामद गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । त्यसैगरी सोही स्थानबाट ६८ हजार ३ सय ७० रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी बरामद गरी मङ्गलबार आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको थापाले जनाए ।

त्यस्तै सोमबार कचनकवल गाउँपालिका ६ बनियानी पुलबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ३१ हजार ५ सय मूल्य बराबरको युरिया मल बरामद गरी भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।