सङ्खुवासभा/ सङ्खुवासभाको मकालु गाउँपालिकास्थित खेम्पालुङ शिवधारा गुफा प्रचार–प्रसार नहुँदा पर्यटनको केन्द्र बन्न सकेको छैन ।

गुफालाई स्थानीयले शिवधाराको नामले सम्बोधन गर्ने गरेका छन् । ढुङ्गैढुङ्गाले बनेको गुफा प्रचार–प्रसारको अभावमा पर्यटकको रोजाइमा पर्न सकेको छैन । भौगोलिक कठिनाइका कारणले पनि ओझेलमा परेको साहित्यकार ताराबहादुर बुढाथोकीको भनाइ छ । उनका अनुसार स्वस्थानी ब्रतकथामा परापूर्वकालमा शिव र पार्वतीको बासस्थान रहेको मानिने धार्मिक तीर्थस्थल शिवधारालाई शक्तिको प्रतीकको रूपमा समेत लिने गरिएको छ । यस स्थललाई शक्तिपीठका रूपमा विकास गरी धार्मिक पर्यटकलाई निम्त्याउन गाउँपालिकाले गुरुयोजना बनाउने तयारी रहेको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताए ।

खाँदबारीबाट करिब १ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको शिवधारा–४ हजार ६ सय मिटर उचाइमा रहेको छ । प्राकृतिक रूपमै शिव र पार्वतीको आकृति कुँदिएको छ । शिवधारामा स्नानका लागि आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । कैलाशको शिरका रूपमा रहेको शिवधारामा शिवजीको जटाबाट निस्किएको पानीको धारो छालका रूपमा भक्तजनको शरीरमा खस्ने गर्छ ।

अग्लो स्थानबाट झरेको पानीले धर्मात्मालाई राम्ररी भिजाउँछ तर पापकर्म बोकेकालाई पानीले छुँदैन भन्ने किंवदन्ती रहँदै आएको छ । शिवजीले कालकुटबाट जोगिनका लागि लुक्ने गरेको २५ मिटर उचाइ र २० मिटर चौडाइको शिव गुफा पनि छ । त्यतिमात्रै नभएर ढुङ्गैढुङ्गाको शहरका रूपमा विशाल पहरा हुँदै गगन चुम्बी ढुङ्गामा रहेको शिवलिङ्ग र पार्वती योनीको आकृति त्यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । उक्त स्थानमा रहेको विशाल पहरामा शिवपार्वती अङ्कित आकृतिका साथै हात्ती र गणेशको प्रष्ट आकृतिसमेत अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम खाँदबारीबाट ३८ किलोमिटरको दूरीमा रहेको मकालुको नुम बजारसम्म यातायातको सुविधा उपलब्ध भए पनि त्यहाँ शिवधारा पुग्न त्यहाँबाट थप २ दिनको पैदलयात्रा पार गर्नुपर्ने हुन्छ । मकालुको नुम बजारबाट करिब १ दिन पैदल हिँडेर मकालुकै सेदुवा गाउँमा बास बस्न पुगिन्छ । खान र बस्नका लागि उक्त स्थानमा होम–स्टे र होटलहरूको राम्रो व्यवस्था रहेको छ र त्यहाँबाट भोलिपल्ट सबेरै उठेर उकाली–ओराली हुँदै मकालु हिमालको दृश्यावलोकन गर्दै बेलुकीको बास खुङ्मामा बस्नुपर्ने हुन्छ । भोलिपल्ट बिहानको खाना ठूलो डाँडामा रहेको ठूलो पोखरी पनि पर्यटकका लागि अत्यन्तै आकर्षणको केन्द्रका रूपमा रहेको छ । ठूलो पोखरी अवलोकन गर्दै रात्रीको बास शेर्पा संस्कृतिले भरिपूर्ण मानिएको दोबाटे गाउँमा गर्नुपर्ने हुन्छ ।

दोबाटेबाट उठेर प्राकृतिक सौन्दर्यले भरिपूर्ण याङ्ले खर्क जहाँ पूर्वराजा महेन्द्र र वीरेन्द्रसहितका राजपरिवारका सदस्यहरू प्राकृतिक दृश्यावलोकन र मनोरञ्जन लिन हेलिकप्टरमार्फत् पुग्ने गरेको स्थानीय निरुप्पा भोटेको भनाइ छ । याङ्ले खर्क अत्यन्तै आकर्षक हिमाली क्षेत्र हो । केही वर्ष अघिसम्म प्रशस्त मात्रामा विदेशी पर्यटकहरू भ्रमणमा आउने गर्दथे । माओवादी द्वन्द्वकालका कारण सुस्ताएको त्यस क्षेत्रको पर्यटन व्यवसाय अहिलेसम्म अङ्कुराउन सकिरहेको छैन ।

सरकारले यस क्षेत्रलाई केही प्राथमिकतामा राखिदिए हुन्थ्यो भन्ने त्यस क्षेत्रका बासिन्दाको अपेक्षा छ । त्यस क्षेत्रमा त्यस समयमा होटल व्यवसाय गर्ने व्यवसायीहरू हिले विस्थापित भई अन्यत्र गइसकेका छन् वा भएका व्यवसायीहरू पनि अन्य पेशा अँगाल्न बाध्य छन् । फेरि पनि केही पहल गर्ने हो भने उनीहरूलाई पुनः त्यस क्षेत्रमा फर्काउन सकिने स्थानीय फिन्जो कर्मा लामाको भनाइ छ । अहिले भने दुर्गम क्षेत्र भएकाले तोकिएको स्थानमा मात्र पर्यटकका लागि होटलहरू रहेका छन् ।

शिवधारामा बिहानैदेखि भक्तजनहरूको उपस्थिति रहने गर्छ । शिवधारामा स्नान गरिएमा जीवनभर गरिएको पाप पखालिने, सन्तान प्राप्ति हुने सँगै छालाको रोगहरू निको हुने विश्वास रहँदै आएको छ । त्यस क्षेत्रमा पुगेका पर्यटकहरू मनमोहक दृश्यले लोभिने गर्छन् भने प्राकृतिक संसारमा पुगेको अनुभूति गर्छन् । मन हलुङ्गो हुने, शरीरमा स्फूर्ति आउने, मनमा भएका विकारहरू पखालिएको भान हुने गरेको त्यस क्षेत्रको भ्रमणबाट फर्किएका पर्यटक मेघराज तामाङ बताउँछन् ।

उनका अनुसार शिवधारा धार्मिक आस्था मात्र नभएर प्रकृतिप्रेमी हरेकका लागि साहसिक गन्तव्य भए पनि प्रचार– प्रसारको अभावमा छलिएको स्वर्गको प्रतिरूप भएको उनको भनाइ छ । शिवधाराको महिमाबारे पर्यटकलाई बुझाउन प्रचार–प्रसारमा जोड दिनुपर्ने साहित्यकार ताराबहादुर बुढाथोकी बताउँछन् । प्रचार–प्रसारको अभावमा ओझेल परेको त्यस क्षेत्रलाई धार्मिक गन्तव्य

स्थलका रूपमा चिनाउन शिवधारा वाङ्मय यात्राको यात्रा संस्मरण पुस्तक निर्माण क्रममा रहेको र भिडियो डकुमेण्ट्री निर्माण सम्पन्न गरिसकेको बुढाथोकीको भनाइ छ । त्यसका अलावा सडक संरचना निर्माणमा राज्यले ध्यान पुर्याउनसके चीनको स्वशासित क्षेत्र तिब्बतको पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय नागरिक समाजका अगुवा जीवनाथ खनाल बताउँछन् ।

उनले भाषा, संस्कृति, भौगोलिक अवस्था, हावापानी र रहन–सहन चिनियाँ तिब्बतीसँग मिल्ने भएकाले पनि त्यस क्षेत्रमा प्रशस्त मात्रामा चिनियाँ पर्यटक भिœयाउन सकिने बताए । राज्यले थोरै प्रचार–प्रसार र सडक निर्माणमा जोड दिने हो भने हिन्दु धर्मावलम्बीले अत्यन्तै श्रद्धापूर्वक मान्ने शिवपार्वतीको पौराणिक बासस्थानलाई विश्वभरका हिन्दुहरूको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने खनाल बताउँछन् । हिन्दु मात्र नभई किराती सभ्यतासँग समेत जोडिएको खेम्पालुङ शिवधाराको प्रचार–प्रसारमा सबैले ध्यान दिन जरुरी छ ।

शिवधाराको यात्रा केही कष्टकर भए पनि त्यहाँबाट फर्कंदा दैवीशक्तिले भक्तजन र पर्यटकलाई थप शक्ति प्रदान गरेको भान हुने गरेकाले यात्राको कठिनाइलाई समेत पर्यटकले सहज रूपमा लिने गरेको शिवधाराको भ्रमण गरी फर्किएका खाँदबारीका लेलिन श्रेष्ठ बताउँछन् । प्रायः शिवधाराको भ्रमण गर्नेलाई कठिन यात्राका क्रममा समेत कुनै चोटपटक नलाग्ने, यात्रामा देखिएका कठिनाइ हराएर जाने भन्ने भनाइ रहँदै आएको छ ।

अहिलेसम्म शिवधाराको यात्राको क्रममा कसैलाई चोटपटक लागेको आफूलाई थाहा नभएको मकालु–१ का दिलोप्मा भोटेको भनाइ छ । उनका अनुसार त्यति अप्ठ्यारो बाटोमा सामान्य रूपमा धेरै चोटपटक पर्नुपर्ने तर त्यो भएको छैन ।