• सन्देश किराती

भोजपुर  / जिल्लामा कोभिड – १९ को संक्रमणको आशंकामा भारतीय सीमानाका र अन्य देशबाट आएकालाई राख्न बनाइएका क्वारेन्टाइनहरु खाली बनेका छन् । क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गरेर घर फर्काइए पछि क्वारेन्टाइनहरु खाली भएका हुन् । जिल्लाका ९ स्थानीय तहका ६ सय १७ क्वारेन्टाइन खाली छन् । भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनाको पनि आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको छ । पछिल्लो समय भारत तथा अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन् ।

बाहिरबाट आएर बसेका सबैको रिपोर्ट नेगेटिभ आएकाले सबैलाई घर फर्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । अहिले होम क्वारेन्टाइनमा ४६ जना छन् । कोभिड १९ संक्रमण भए पछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८ सय ८० जना घर फर्किएको प्रजिअ पुरीले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमण आशंकामा ५ सय २० जनाको पिसिआर परीक्षण र एक हजार चार सय ८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा गत बैशाख ११ गते हतुवागढी गाउँपालिकामा १ जना र जेठ २३ गते षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु सबै जना निको भएर घर फर्किसकेका छन ।

मास्क नलगाउनेलाई सय रुपैया जरिवाना
जिल्ला प्रशासन कार्यालय भोजपुरले सदरमुकाम र आसपासका मुख्य बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन सुचना जारी गरेको छ । लकडाउन खुले पनि कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले अनिवार्य माक्स लगाउन सुचना जारी गरेको हो । बाटोमा हिंड्ने सर्वसाधरणले मास्क नलगाएको भेटिए न्यूनतम एकसय रुपैयाँ जरिवाना गरिने प्रशासनले जनाएको छ ।

कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्युनत्तम २ मिटरको सामाजिक दुरी कायम गर्न, सार्वजानिक स्थलमा हिंडडुल गर्दा मास्कको प्रयोग गर्न, सावुन पानीले हात धुन र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ । नागरिकले सूचनाको अवज्ञा गरे संक्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार सय रुँपैया जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरि आगुन्तुक सर्वसाधरण र सवारी साधनमा समेत कडा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।