विराटनगर/ प्रदेश १ का मुख्य न्यायाधीवक्तासहित प्रदेश १ मा सोमबार ५७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङका ४६ जनामा कोरोना देखिएको हो । विराटनगर महानगरपालिकाभित्र २२ जना छन् । परीक्षणमा विराटनगर–५ का मुख्य न्यायाधीवक्तासहित परिवारका दुई सदस्यलाई कोरोना भएको छ । आचार्यले आफू पछिल्लो १० दिनयता घरमै रहेको बताए । आफू र परिवारका सदस्यहरूको अवस्था सामान्य रहेको र खासै लक्षण नरहेको उनले जानकारी दिए । ‘धेरै मिटिङमा सहभागी भएको र सुरक्षाकर्मीसँग पनि सम्पर्क हुने गरेकोले कहाँबाट कोरोना सर्यो भन्ने एकिन भएको छैन’ –उनले भने ।

७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी छन् । यस्तै विराटनगरस्थित न्यूरो हस्पिटलका ३ जना नर्समा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका आकस्मिक कक्षमा कार्यरत एक जना चिकित्सिकलाई सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट टे्रसिङ गरी स्वाब सङ्कलन गरिएको थियो । न्यूरो हस्पिटलका तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

न्यूरो अस्पतालले शनिबार आकस्मिक कक्ष सिल गरी सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन र अस्पताल सेनिटाइज गर्ने काम शुरू गरेको छ । आइतबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गरी आकस्मिक र बहिरङ सेवा अर्को सूचना नआएसम्म बन्द गरेको जानकारी गराएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा सङ्क्रमण देखिएको हो । यस्तै मोरङको रङ्गेली नगरपालिकामा २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै सुनसरीमा ५ जनालाई सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा तीन, धरान र इनरुवामा १–१ जनालाई सङ्क्रमण देखिएको हो । धरान–१५ का ५० वर्षीय पुरुष छन् । उनी धरानको औद्योगिक क्षेत्रस्थित प्रिती भल्भमा काम गर्ने कर्मचारी हुन् । यसअघि प्रिती भल्भमै कार्यरत धरान–१३ का २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो ।

ट्राभल हिस्ट्रीसमेत नभएका उनमा कोरोना देखिएपछि प्रिती भल्भमा कार्यरत अन्यको पनि पीसीआर परीक्षण गर्दा आइतबार ५ जना सङ्क्रमित देखिएका थिए भने सोमबार एक जनामा सङ्क्रमण देखिएको छ । उनको श्रीमती र छोरीको पनि पीसीआर परीक्षण गर्दा उनीहरूमा भने सङ्क्रमण देखिएको छैन । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २८ पुगेको छ । प्रदेश १ मा हालसम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

देशभर ४ सय १८ थपिए, १ को मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्याङ्कमा ४ सय १८ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो एक महिनाको तथ्याङ्कलाई केलाउने हो भने सोमबारको तथ्याङ्क सबैभन्दा बढी हो ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० पुगेको छ । मृतकको सङ्ख्या ५८ पुगेको छ । सोमबार विराटनगर–५ का ७७ वर्षीय पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको कोशी अस्पताल आइसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । अस्पताल ल्याउँदा अक्सिजनको पनि मात्रा कम रहेको डा. यादवले बताए ।

‘अक्सिजनको मात्रा ९० भन्दा बढी हुनुपर्ने हो’ राउण्डमा रहेका मुटु रोग विशेषज्ञ डा. प्रवेश झाले भने, ‘अस्पताल ल्याइपु¥याउँदा ६५ मात्र थियो । उपचारको क्रममा मृत्यु भयो ।’ प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि असार १९ गते सर्वाधिक ७ सय ४० जना सङ्क्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा ३ सय ५८ जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालका कुल १४ हजार ९ सय ६१ सङ्क्रमित घर फर्किसकेका छन् ।