इनरुवा/ लकडाउन खुलेसँगै सुनसरीका बाह्रै वटा स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि आंशिक लकडाउन गर्न थालेका छन् ।
प्रदेश १ सरकारले सुनसरीको भोक्राहा नरसिंह, बर्जु, हरिनगर र कोशी गाउँपालिका बढी जोखिम रहेको उल्लेख गरेको छ । भारतसँग जोडिएका सीमावर्ती स्थानीय तहहरू बढी संवेदनशील मानिएका छन् । बढ्दो जोखिम भएपछि सुनसरीका हरेकजसो स्थानीय तहले आफूपायक निर्णय गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न थालेका छन् । सुनसरीको पूर्वोत्तरको स्थानीय तह धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेको छ ।
धरानले स्वास्थ्य सावधानी बढाउने र बजार पसल समय निर्धारण गरी सञ्चालनमा ल्याए पनि कार्यान्वयन तहमा फितलो रहेको छ । हालसम्म धरानमा कोरोना संक्रमितको सङ्ख्या २४ पुगेको छ । आइतबार मात्रै धरानका ९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
यसअघि धरानमा सङ्क्रमित भेटिएका एक व्यक्तिसँगको कन्ट्याक ट्रेसिङका आधारमा आइतबार थप ५ जनामा सङ्क्रमण देखिएको छ । क्वारेन्टिन बाहिरका व्यक्तिमा समेत सङ्क्रमण देखिएपछि समुदायमा सङ्क्रमण फैलिएको हुन सक्ने आँकलन गरिएको छ । धरान उपमहानगरले समुदायमा कोरोना फैलिएको आशङ्कामा ५ सय जनाको पीसीआर विधिमार्फत जाँच गर्ने तयारी थालेको छ ।
यसै गरी इटहरी उपमहानगरपालिकामा पनि कोरोनाको जोखिम बढेको छ । नगरपालिकाका इन्जिनियरमा सङ्क्रमण देखिएपछि नगरमा कडाइ गरिएको छ भने स्वास्थ्य सावधानी र सामाजिक दूरी अपनाउन भनिएको छ । नगरपालिकाले सबै कर्मचारी र जनप्रतिनिधिहरूको परीक्षण समेत थालेको छ । इटहरीमा आइतबार थप एकजना सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या १६ पुगेको छ ।
इनरुवामा अहिलेसम्म ६ जना सङ्क्रमित भेटिएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत महेन्द्रचोक घर भएका पुरुषमा सङ्क्रमण देखिएपछि स्थानीय बजार घुमफिर गरेको र समान किनमेल गरेको आधारमा त्यसयता इनरुवा बजार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न थालिएको छ । नगरपालिका र वडाबाट सम्पादित हुने कामकाज तत्कालका लागि बन्द गरिएको छ ।
पहिलो चरणमा ४३ जनाको पीसीआर रिपोर्ट नेगटिभ आएको छ भने समुदायमा कोरोना फैलिएको छ/छैन पत्ता लगाउने उद्देश्यले नगरक्षेत्र भित्रबाट नमूनाका रूपका छनौट गरी स्वाब सङ्कलन गरिएको छ । बजारमा हिँडडुल गर्नेलाई मास्क अनिवार्य गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बजार पसल सञ्चालन र भिडभाडलाई व्यवस्थित बनाउँदै लगेको छ । नगरपालिकाले अत्यावश्यक काम बाहेक प्रवेश निषेध गरेको छ । वराहक्षेत्रमा पछिल्लो १ जनासहित सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । दुहबी नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि साप्ताहिक हाट बन्द गराएको छ । बजार पसल बिहान ९ देखि ४ सम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।
उद्योग सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेको हुनुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, र सामाजिक दूरी कायम गरेको हुनुपर्ने जस्ता नियम लागू गरेको छ । मास्कबिना हिँड्नेलाई जरिवाना समेत तोकेको छ । रामधुनी नगरपालिकामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । रामधुनीको क्वारेन्टिनमा रहेका व्यक्ति भागेका थिए । भागेका व्यक्तिमा कोरोना पोजेटिभ पाइएपछि रामधुनीले लक डाउनको घोषणा गरेको छ । गाउँपालिकातर्फ सुनसरीको कोशी, बर्जु, गढी, हरिनगर र भोक्राहा नरसिंहले समेत नगरपालिकाले कार्यान्वयनमा ल्याएका निर्णय झैं व्यवस्था लागू गरेका छन् ।
कोशीले हटियालाई व्यवस्थित गरी भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाएको जनाएको छ । तत्कालका लागि अत्यावश्यक बाहेकका कार्यालयबाट प्रदान हुने कोशीले सेवा बन्द गराएको छ । कोशीमा सङ्क्रमितको सङ्ख्या २१ रहेको छ । बर्जु गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ जना रहेको छ ।
बर्जुले समेत कार्यालयबाट प्रदान हुने सेवा अत्यावश्यक बाहेक बन्द गरेको जनाएको छ । गढी, भोक्राहा र हरिनगरले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकको सेवा रोकेका छन् । हरिनगरमा कार्यरत केही स्वास्थ्यकर्मीलाई विराटनगरमा गएको बेला सङ्क्रमितसँग घुलमिलका आधारमा कोरोनाको आशङ्काले होम क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
अहिलेसम्म हरिनगरमा १८ जना कोरोना सङ्क्रमित फेला परेका छन् । देवानगञ्जले हालसम्म नियमित सेवा नरोके पनि निकट भविष्यमै निर्णय गर्ने जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आइतबार थपिएका ११ सहित जिल्लामा १ सय ४२ जना पुगेका छन् । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंका अनुसार कुल सङ्क्रमित मध्ये १ सय १४ जना निको भएर घर फर्किएका छन् ।
सुनसरीमा हालसम्म ८ हजार १ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । यता कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले समेत प्रवाह गर्ने सेवामा आलोपालो प्रणाली लागू गरेको छ ।