• प्रेम तुलाधर

आज साउन पूर्णिमा । नुहाई धुवाई आज सप्तऋषिहरूलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । आजको दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । विशेषगरी हिन्दूहरूले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोला नाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राम्हणहरूले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरु पुरोहितद्वारा मन्त्रोच्चारण गरी शुद्ध गरिएका जनै लगाउने गर्दछन् । आजै घरघर घुम्दै वा मन्दिर परिसरमा बसेर मन्त्र उच्चारण गर्दै कतिपय पुरोहितहरूले आम नागरिकहरूलाई रक्षा बन्धनका रूपमा रक्षा सूत्र (डोरा) बाँधी दिन्छन् । यी डोराहरू पूजापाठ गरी मन्त्रोच्चारण गरेर शुद्ध पारिएका हुन्छन् । परपम्रागत विधिसम्मत ढङ्गले बाँधिदिएका रक्षा सूत्रले हामीमा भएको नकारात्मकता हटाई सकारात्मक उर्जा दिने विश्वास गरिन्छ ।

हिन्दूहरूले धारण गरेको यो डोरा लक्ष्मीपूजाको दिन मात्र फुकाल्ने प्रचनल रहेको छ । यस दिन गाईलाई पूजा गरी गाईको घाँटीमा माला लगाएर वा गाईको पुच्छरमा यो डोरा बाँध्नाले बैतरणी नदी पार गर्न सकिन्छ र आफूले गरेको पापबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ । हुनत यो परम्परा क्रमशः लोप हुँदै गइरहेको छ । झन् यसपटक कोभिड १९ ले विश्वलाई नै त्रसित बनाएको छ । यसले विश्वमा करिब ७ लाखको हाराहारीमा मानवीय क्षति भइसकेको छ । यसले सबै क्षेत्रमा असर पारेको छ । यसले पर्व, जात्रालाई पनि स्वभाविक रूपमा असर पारेकाले यस वर्ष यो पर्व खल्लो हुने पक्का छ । आजको दिन नेपालको विभिन्न क्षेत्रमा बसेका विशेषगरी तराई मूलका मानिसहरूले रक्षा बन्धन धुमधामका साथ मनाउँछन् । आफ्नो दाजुभाइलाई दिदीबहिनीहरूले ‘राखी’ बाँधी दिने गर्दछन् ।

दाजुभाइले आफ्नो दिदी बहिनीलाई गच्छेअनुसारको रुपैयाँ पैसा उपहार दिन्छन् । दाजुभाइहरूले दिदीबहिनीहरूको जहिले पनि रक्षा गर्ने र रक्षा कवचको रूपमा अडिग भइरहने बचन दिने गर्दछन् । दिदीबहिनीहरूले पनि आफ्नो दाजुभाइहरूलाई मीठा–मीठा परिकार बनाएर खुवाउने गरेका छन् । दिदीबहिनी र दाजुभाइप्रतिको अटुट माया, स्नेह देखाउने यो पर्व आफ्नै तरिकाले मनाउने गरेका छन् । आफन्तजनमा समेत दिदीबहिनी नहुने दाजुभाइहरू यस दिन आफ्नो हातमा ‘राखी’ बाँध्न नपाउँदा खल्लो अनुभव गर्ने गर्दछन् भने दाजभाइ नहुने दिदीबहिनीहरू प्नि यस दिन ‘राखी’ बाँध्न नपाउँदा अति नै खल्लो अनुभव गर्ने गर्दछन् तर यस्तो अवस्थामा कतिपयले आफ्नो मनले खाने, घर परिवारले रुचाएका व्यक्तिलाई दिदीबहिनी वा दाजुभाइ मानेर ‘राखी’ लगाउनु वा लगाइनु अन्यथा लिन सकिन्न ।

आजको दिनलाई नेवारहरू ‘क्वाती’ पूर्णिमाको रूपमा मान्दछन् । नेवारी भाषामा ‘क्वा’ भनेको तातो र ‘ती’ भनेको झोल वा रस हो । मटर, भटमासलगायत विभिन्न ९ किसिमका गेडागुडी मिसाएर पकाई खाने गर्दछन् । शरीरमा लागेको चिसो तथा सर्दी भगाउनका लागि ‘सुप’ खाने गरिन्छ । आजको दिन आफ्नो छोरी चेली, ज्वाइँ, आफन्त आदिलाई बोलाएर क्वातीका अलावा अन्य मीठा र स्वादिला परिकार पनि पकाएर खुवाउँछन् । नेवारहरूका साथसाथै अन्य समुदायका महानुभावहरूले पनि आज क्वाती खाने प्रचलन रहेको पाइन्छ । यसरी गेडागुडीको तातो झोल खानाले प्रशस्त प्रोटिन र भिटामिन पाई शरीरलाई उर्जावान बनाउँछ । अझ यी गेडागुडीहरू अङ्कुरित गरी सेवन गरेमा अझ धेरै पौष्टिकता प्राप्त हुने गर्दछ । पारिवारिक भेटघाटमा रमाइने नेपालका विभिन्न चाडपर्वहरूमध्ये यो पनि एक हो ।

विभिन्न समयमा मनाइने विभिन्न चाडपर्वहरूको आ–आफ्नै विशेषता रहेको पाइन्छ तर कोरोनाको कहरले गर्दा यसपटक जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पूर्णिमालाई पहिलेको जस्तो रमाइलो गरी मनाउन नपाउँदा सम्बन्धित सबैलाई खल्लो लाग्नु स्वाभाविक मान्न सकिन्छ । बढी भिडभाड नगरी आफ्नै घरमा स्वास्थ्य सर्तकतासहित अत्यन्त सामान्य रूपमा मनाउनु वा नमनाउनु यहाँहरूको परिस्थिति, अनुकूलता र प्रतिकूलतामा निर्भर हुने कुरा हो । ज्यान रहे अर्को वर्ष रमाई–रमाई मनाउन सकिन्छ तर ज्यानै नरहे कसरी मनाउने ? त्यसैले आफ्नो परिवार र आफ्नै लागि भए पनि आजैबाट स्वास्थ्य सर्तकता अपनाउनै पर्छ ।