• धनबहादुर पुरी

इटहरी । इटहरी उपमहानगरमा चियामा फजुल खर्च बढेको छ । बार्षिक चिया नास्ता खर्चमा लाखौ रुपैयाँ सक्ने गरेको पाइएको छ ।

इटहरी उपहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिले चिया र खाजामा मात्रै ३६ लाख १९ हजार १ सय ९० रुपैयाँ खर्च गरेको छ । एक बर्षमा इटहरी उपमहानगरपालिकाले २० वडा कार्यालय र इटहरी उपमहानगरपालिका भित्र उक्त रकम खर्च गरेको हो । उपमहानगरपालिकाले चिया–नास्ता शीर्षकलाई विविध खर्च भनि चिया र नास्तामा खर्च भएको देखिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रत्येक वडा कार्यालयलाई बार्षिक ७२ हजार चिया नास्तामा खर्च गरेको तथ्याकले देखाउँछ । यसरी वडा कार्यालयमा १४ लाख ४० हजार खर्च भएको देखिन्छ । त्यस्तै इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा मात्र २१ लाख ७९ हजार १ सय ९० रुपैयाँ खर्चेको छ । इटहरी उपमहानगरपालिकाका सूचना अधिकारी गणेश ढकालले चिया नास्ता शिर्षकमा खर्च देखाउँन नपाएको कारण विविध खर्चमा चिया नास्ताको खर्च हालेको बताए ।

चिया नास्ता तथा विविध शिर्षकमा भएकाले अन्य सानातिना समान गरिदको समेत खर्च देखिएकाले धेरै देखिएको मेयर द्वारिकलाल चौधरीले बताए । महानगरपालिकामा खर्च बढेको कारण अहिले आफुहरु ग्रिन टि खान थालेको उनले बताए ।