भण्टाबारी/ कृषि ज्ञान केन्द्र सुनसरीबाट सञ्चालित विभिन्न कार्यक्रममा अनियमितता भएको गुनासो आएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीले सोमबार गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकीकरण तथा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयात्मक बैठकमा जिल्लाका जनप्रतिनिधिहरूले अनियमितताको आरोप लगाएका हुन् ।
आफू निकटका कृषक समूहलाई कार्यक्रम पारेर कागजमा काम भएको देखाइए पनि वास्तविक कृषकहरू लाभान्वित हुन नसकेको सुनसरीका जनप्रतिनिधिले गुनासो गरेका छन् । स्थानीय तहहरूसँग कुनै समन्वय नगरी अपारदर्शी हिसाबले कृषि ज्ञान केन्द्र सुनसरीले कार्यक्रमहरू गरेको उनीहरूको भनाइ थियो । उक्त कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कृषि ज्ञान केन्द्र सुनसरीले कृषकहरूलाई भन्दा सीमित कृषक समूहलाई लाभ हुने काममात्र गरेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भएका अधिकांश कार्यक्रमहरू पारदर्शी नभएको गुनासो आएको हो । ‘रातदिन जनताको सम्पर्कमा हामी हुन्छौं, समस्या भए जनता हामीकहाँ आउँछन्’ मेयर मेहताले भने, ‘खेतीपातीको सिजन चल्दैछ, किसानले मल पाएका छैनन्, यो समस्या कसरी न्यूनीकरण गर्न सकिन्छ यसबारे खोइ त छलफल गरेको कृषि ज्ञान केन्द्रले ?’ कृषि ज्ञान केन्द्र सुनसरीले कुनै पनि कार्यक्रम गर्दा जनप्रतिनिधिसँग समन्वय नगरी अपारदर्शी तरिकाले गरेको उनको कथन छ ।
किसानका लागि आएको बजेट वास्तविक किसानसमक्ष पुग्न नसकेको बताउँदै दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले त्यसो हुनुमा स्थानीय तहसँग समन्वय अभाव प्रमुख कारक रहेको बताए । कृषि क्षेत्रमा आएको बजेटमा कार्यक्रम छनोट गर्नेदेखि सम्पन्न हुँदासम्म वास्तविक कृषकलाई भन्दा केही व्यक्तिलाई लाभ हुने काम मात्र भएको उनको भनाइ छ ।
लकडाउनको बहाना बनाउँदै कृषि आधुनिकीकरण र व्यवसायीकरण गर्न आएको करोडौं रकम दुरुपयोग भएको हुँदा छानबिन गर्न किसानहरूले माग गरेका छन् । दुहबी नगरपालिकाले आफ्नो लगानीमा दर्जनौं किसानलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाउने काम गरे पनि कृषि ज्ञान केन्द्र सुनसरीले आएको पैसा कृषक समूहमार्फत् दुरुपयोग गर्ने काम गरेको मेयर गच्छदार बताउँछन् । आफूहरू मिलेर कृषि आधुनिकीकरण तथा व्यवसायीकरण गर्न चाहेको बताउँदै उनले कृषि ज्ञान केन्द्रले सहकार्य र समन्वय गर्न नचाहेको हुँदा समस्या आएको बताए ।
प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई विश्वास नगरेकोले यस्तो समस्या आएको जनाउँदै मेयर गच्छदारले जनप्रतिनिधि उपर विश्वास गर्न प्रदेश सरकारलाई आग्रह गरे । ‘प्रदेश सरकारले कृषिसम्बन्धी कार्यक्रममा हामीलाई विश्वास गरेन’ उनले भने, ‘स्थानीय तहमा बजेट पठाउँदा दुरुपयोग हुन्छ भन्ने उनीहरूको मानसिकता देखियो, यस्तो मानसिकता परिवर्तन हुनु आवश्यक छ ।’ यता यसबारे जिज्ञासा राख्दा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले स्थानीय तहका प्राविधिकसँग समन्वय गरेरै कार्यक्रमहरू गरेको दाबी गरे । जनप्रतिनिधिहरूले उठाएको प्रश्नबारे सोध्दा उनले केही कमी कमजोरी भए आफू आगामी दिनमा सच्याएर जाने बताए ।