धरान । साँस्कृतिक पर्वका धनी नेवार समुदायलाई नेवाः देय दवूः धरान नगर समितिले सामूहिक रूपमा गरिने पूजाआजालाई विधिमात्रै पूरा गर्नका लागि आग्रह गरेको छ ।

कोरोना महामारीका कारण साउन यता सुरु हुने साँस्कृतिक पर्वहरूमा सहभागी नभई विधिमात्रै पूरा गर्न विज्ञप्तिमार्फत् आइतबार आग्रह गरेको हो । दवूः नगर समितिका अध्यक्ष मनोहर शाक्यले नेवारी समुदायसँग छलफल र अन्तरक्रियापछि यस्तो निर्णय गरिएको उल्लेख गरे ।

नेवारी समुदायको साझा पर्वको रूपमा मनाइने पर्वहरू जस्तै गाईजात्रा (सपारू) लगायतका पर्व भिडभाडका साथ मनाइने भएकाले त्यस्ता पर्वहरू विधिमात्रै पूरा गर्न आग्रह गरिएको हो । कोरोनाका बिरामीहरू दैनिक बढिरहेकाले सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ ।