धरान/ हरेक साउनमा गेरु वस्त्रधारी बाहुल्य हुने धरानमा पहिलो पटक कोरोना महामारीका कारण ‘ब्रेक’ लागेको छ ।

३८ वर्षदेखि जल चढाउने गरिएको धरानको पिण्डेश्वरमा पहिलो पटक कोरोनाले भक्तालुहरूलाई पूजाआजामा बाधा पुगेको हो । स्थानीय सरकार तथा प्रशासनले पनि बोलबम नआइदिनका लागि आग्रह गरेको छ । धरान उपमहानगरपालिकाले शनिबार धरान बजारमा माइकिङ गर्दै भक्तालुहरूलाई जल चढाउने कार्यमा सामेल नभइदिनका लागि आग्रह गरेको थियो ।

यसअघिका वर्षमा आयोजक पिण्डेश्वर बाबाधाम समितिले पत्रकार सम्मेलन गर्दै भक्तालुहरूलाई आउनका लागि आग्रह गर्ने गरेको थियो । तर यसपटक भने कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मठमन्दिर सञ्चालनमा आउन सकेको छैन ।

‘सरकारले मठमन्दिर खोलेको छैन, सरकारले नखोलिकन हामीले मात्रै खोल्दा समस्या हुन्छ, भोलि कसैलाई सङ्क्रमण भएको रहेछ भने त ट्रेसिङ गर्न पनि गाह्रो हुन्छ’ पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष एवम् धरान–३ का वडासदस्य विकासकुमार बनेपालीले भने, ‘स्थानीय सरकारमार्फत् माइकिङ नै गरेर सबैलाई नआउनका लागि आग्रह गरेका छौं ।’

कोरोना महामारीले सबै क्षेत्रलाई थला पारेको छ । विशेषगरी भीडभाड हुने क्षेत्रहरू सबैभन्दा बढी मारमा परेका छन् । त्यसमध्ये मठमन्दिरहरू पनि एक हो । धरानको पिण्डेश्वरमा हरेक वर्षको साउनमा मात्रै ३ देखि ५ लाख भक्तजनहरू जल चढाउनका लागि विभिन्न जिल्लाबाट आउने गर्दथे ।

अध्यक्ष बनेपालीका अनुसार भारतको सिक्किम, दार्जिलिङ, बिहारको फारबिसगञ्ज, जोगवनी, अररियालगायतबाट जल चढाउनका लागि भक्तालुहरू आइपुग्ने गरेका थिए । नेपालको सुर्खेत, बझाङ, बैतडीसम्मका भक्तालुहरू आउने गरेको उनले बताए । ‘पहिलो पटक भक्तजनलाई नआइदिनुहोस् भनेर भन्नु परेको अवस्था छ’ उनले भने, ‘आइहाल्यो भने पनि गेटबाटै दर्शन गरेर फर्किनका लागि आग्रह गरेका छौं ।’ धरानको पिण्डेश्वर मन्दिरमा २०३९ सालदेखि जल चढाउन थालिएको हो ।

वराहक्षेत्रको कोकाहाबाट भक्तजनहरूले जल ल्याएर मन्दिरमा चढाउने गरेका छन् । मन्दिरले हरेक वर्ष ४ देखि ५ लाख रुपैयाँ भक्तजनहरूबाट सङ्कलन गर्दै आएको थियो । त्यस्तै पुजारीले पनि ७–८ लाख रुपैयाँ आम्दानी गर्ने गरेका थिए ।

पर्यटन व्यवसायी वासु बरालले आर्थिक रूपमा धरानलाई खासै फाइदा नभए पनि बोलबम रोकिँदा समस्या हुने बताए । उनले भने, ‘३८ वर्षदेखि शुरु भएको बोलबम ठ्याप्पै रोकिँदा एक खालको असर पर्छ । बानी लागिसकेको छ, लागिसकेको बानीलाई फेरि उठाउन सकिँदैन, मान्छेहरू अरूतिर डाइभर्ट हुने सम्भावना छ ।’ उनले कोरोनाले गर्दा भोलिका दिनमा पिण्डेश्वरलाई तीर्थको रूपमा विकास गर्न सकिने बताए । ‘पिण्डेश्वरलाई तीर्थस्थल बनाउन सकिने सम्भावना छ, यहाँ बाहिरबाट तीर्थाटन गर्न आउने सम्भावना चाहिँ रहन्छ’ उनले भने, ‘यसलाई त्यो रूपमा अगाडि बढाउन आवश्यक छ ।’

साउनको महिनामा धरान पहेँलो वस्त्रधारीका कारण रङ्गिने गरेको थियो । शिवको प्यारो महिनाको रूपमा साउनलाई लिइन्छ । शिव भक्तालुहरूले आफ्नो मनोकाङ्क्षा पूरा हुने अभिलाषाका साथ यहाँ जल चढाउन आउने गरेका छन् । शिव हिन्दूका आराध्यदेवका रूपमा पुजिन्छन् । शिवलाई साउन महिनाको सोमबार जति धेरै जल चढायो, उति नै खुसी हुने धार्मिक विश्वास रहेको छ ।