• प्रकाश दिप्साली राई

सायद २०६९ सालतिर हुनुपर्छ उत्तरवर्ती सोचका अभियन्ता सगुन सुसाराले भरौलको पूर्वाञ्चलव्यापी साहित्यिक जममघट कार्यक्रममा भनेका थिए– ‘हामी यो दावा गर्छौं की पान्थर नेपाली साहित्यको प्रयोगले अग्रणी स्थानमा छ । नेपाली साहित्यको राजधानी पान्थर हो ।’

यो कुराले निक्कै चिमोट्यो । त्यो बेला म साहित्यको रहरे जस्तै थिएँ । त्यसपछि भने पान्थरको बारेमा केही अध्ययन शुरु गरेँ । नेपाली साहित्यको तेस्रो आयामका विराट व्यक्तित्व वैरागी काइँला, पान्थरको लेखनको श्रीवृद्धिमा योगदान दिने डा. गोविन्दराज भट्टराई, प्रेम ओझा, सिर्जनशील अराजकका हाङ्युग अज्ञात, उपेन्द्र सुब्बा, रङ्गवादका धर्मेन्द्र नेम्वाङ, उत्तरवर्ती सोचका भवानी तावा, सगुन सुसारा, राज माङ्लाक हुँदै कुकुर कविताका प्रवर्तक सङ्गम सुहाङसम्मलाई अध्ययन गर्दा धेरै कुराको जानकार भएँ । अझै यस्ता आयाम र अभियानहरु कति त आउने तरखरमा होलान् । यी अभियान वा आन्दोलनको सिँढी टेकेर नेपाली सहित्यले फड्को मारेकोमा कसैको दुईमत छैन । बेलाबखत यसअघि पनि म पान्थर ओहोर–दोहोर गर्थें तर पान्थरलाई अलिक नजिकबाट चियाउने ढङ्गले जाने मौका पाएको थिइनँ । न त यो ढङ्गको व्यक्तित्वसँगको हेलमेल नै गर्न पाएको थिएँ । संयोग गत माघ २९ गते उत्तरवर्ती सोचका अभियन्ता कवि राज माङ्लाक समथिङ साहित्यिक राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत हुने र विद्या ‘निर्दोषी’ ओझा सम्मान हुने कुरा छ्यापछ्याप्ती छँदै थियो । संयोग मलाई पनि राज माङ्लाकजीको लोकन्तीको रुपमा जाने मौका मिल्यो ।

२८ गते बिहानै राज माङ्लाक र भाषाविद् टङ्क न्यौपानेसँगै धरानबाट ६ः३० मा पान्थर फेदेनसम्मको यात्रा शुरु ग¥यौं । बाटैभरि अनेकौं किस्सा र रमाइला रमाइला गफसँगै इलामको गोदकमा खाना खायौं । राज्यले त्यो बेला भिजिट नेपाल २०२० मनाइरहेको सन्दर्भमा इलाम प्रायः सुनसान जस्तै देखिन्थ्यो । आन्तरिक पर्यटन अति न्यून । यदि राज्यको दीर्घकालीन सोचले यो महŒवाकांक्षी योजना ल्याएको हो भने इलामको सौन्दर्यसँगै लुकामारी गर्दै बग्रेल्ती आन्तरिक तथा वाह्य पर्यटकहरु हुनुपर्ने । इलामले आर्थिक लाभ राम्रो लिइरहेको हुनुपर्ने । तर पर्यटन वर्षको तामझाम खास त्यस्तो देखिएन । तर मलाई चाहिँ त्यतातिरको केही गाउँपालिका र नगरपालिकाको नामकरणले थोरै आनन्दित महसुस गरायो । रोङ, फाल्गुनन्द, याङ्वरक, फालेलुङ, हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, फेदेन जस्ता गाउँपालिका र नगरपालिकाका नामले आफूलाई कतै न कतै अपनत्वको महसुस गरायो । दश वर्षे जनयुद्ध र ०६२/६३ को दोस्रो जनआन्दोलनको अपेक्षाकृत उपलब्धि नभए पनि चित्त बुझाउने मलहम भने यी र यस्तै नै हुन् । नागबेली बाटो र विभिन्न पहाड पर्वतको मनोरम दृश्यहरु नियाल्दै करिब ४ः३० मा फेदेन पुग्यौं ।

हाम्रो बसाइको चाँजोपाँजो होटल सगुनमा मिलाइएको रहेछ । हामी पुगेको पाँच मिनेट नबित्दै मङ्गल बेघा, गुरुङ रामप्रकाश समथिङ, उत्तरवर्ती सोचका अभियन्ता भवानी तावाहरुको जमघट शुरु भयो । हामीले आफ्नो बन्दोबस्तीका सर–सममानहरु रुममा थन्क्यायौं । चिया पियौं र लाग्यौं त्यहाँका कवि, लेखक तथा कलाकारहरुको जमघट हुने थलो कवि कुनातर्फ । निक्कै पुरानो थलो रैछ त्यो । झण्डै ०६३ सालमा केही लेखन्ते तथा पढन्ते युवाहरुको अगुवाइमा स्थापना गरिएको सो कवि कुना आज पनि आकर्षणको केन्द्रविन्दुको रुपमा रहेको छ । आज पान्थर लेखनमा जुन स्थानमा छ ? कवि कुनाको कुनै न कुनै देन रहेछ ।

 नयाँ पुस्ताले त एकेडेमिक थलो नै मान्दा रहेछन् । म पनि नजानी नजानी साहित्यिक यात्राका निम्ति  थोरबहुत घुमेको छु । त्यो खालको जमघट मैले देखेकै छैन भन्दा हुन्छ । कोही सेलिब्रेटी वा कवि लेखक आउने बित्तिकै एक कल मोबाइलको भरमा एकैछिनमा रैथाने कवि, लेखक अनि पत्रकारहरुको बडो लोभलाग्दो जमघट । चाहेर नि नजुरेको भेट आदरणीय दाइ सुजन सेलिङसँगको भेटले हामी दुवैलाई भावनामा डुबायो । वहाँ प्रवासमा रहँदा हामीबीच लेखनको बारेमा धेरै भलाकुसारी र सहकार्य गरियो । त्यो अर्थमा पनि दाइसँगको भेटले पान्थरको यात्रालाई थप सार्थक बनाइदियो । मधु केरुङ, प्रिय पत्रकार गिरिराज बास्कोटाहरुको आगमनले भोलिपल्टको कार्यक्रम भव्य हुने शुभ सङ्केत झल्कँदै थिए । अनि त्यहाँको अर्को सुन्दर पक्ष भनेको अध्ययन र विभिन्न विषयमाथि तार्किक बहस पनि मनमै गढ्ने खालका लाग्ने ।

पान्थरलाई नियाल्दै गर्दा पछिल्लोपल्ट विभिन्न आन्दोलन र अभियानको पहिचानको आवाजलाई जो कोहीले बुलन्द गरिरहेका छन् । पान्थरको पहिचानको आधारहरु मजबुत देखेर पहिचानको वकालत गर्ने अन्य समुदायहरु चाहिँ तेरो पहिचानका आधारमा प्रदेश दिने भइयो, तेरो पहिचानका आधारहरु के के छन् ? भन्दा ती आधारहरु के के देखाउने होला ? भन्ने जिज्ञासाले सताइरह्यो । बडेमानको लिम्बुवानी गेट, त्यहाँका केही पसल वा ठाउँको नामकरण किरात लिपिमा ।

उस्तैलाई मैले खोजेको मेरो प्रदेश यस्तै हो भन्ने खालको पान्थरको फेदेन । अनि त्यहाँका ठाउँहरुको मौलिक नामलाई राज्यले आफू अनुकूल नामकरण गरेको भन्दै त्यहाँका सचेत वर्गले पाँचथरलाई पान्थर लेख्ने अभियान, राज्यले फेदेनलाई फिदिम नामकरण गरेकोमा आपत्ति जनाउँदै फेदेन नै लेख्ने अभियान पहिचानमा गोलबद्ध हुनेहरु जोकोहीको लागि अनुकरणीय पक्ष लाग्दो थियो । यो प्रसङ्ग चलिरहँदा भोजपुरको दिङ्लालाई षडानन्द नगरपालिका नामकरण गर्दा साह्रै नमिठो लागेको थियो । षडानन्द त्यो ठाउँ वा नेपालकै लागि शैक्षिक क्षेत्रको आदर्श पात्र हुन् । त्यो सर्वस्वीकार्य होला । तर नामकरणमा दिङ्ला षडानन्द गरिएको भए सबैको अपनत्व हुन्थेन र ? त्यहाँका उच्च ओहोदाका किरात राई जातिले किन यसको निम्ति चासो देखाएनन् ? यो प्रश्नले बेलाबखत दिमाग रन्थनिने गर्छ ।

त्यहाँका टाठाबाठा हुँ भन्ने समुदायले पनि यो भूमि षडानन्दको मात्र होइन, यहाँ शदियौंदेखि बसोबास गर्ने रैथाने राईहरुको पनि हो भनेर सम्झिदिएको भए संसारभरि छरिएर रहेका किरात राईहरुले त्यो भूमिलाई आफ्नोे गन्तव्य सम्झिन्थे होला र कुनै न कुनै बहानामा आउँथे पनि होला तर त्यहाँका रैथाने बाहेकका राईहरुले षडानन्द नगरपालिकामा आउने आधार के ? यी यस्ता प्रश्नहरुको पछि लाग्ने हो भने यो देश हामी सबैको कहिले हुन्छ भन्ने खुल्दुली सल्बलाइरहन्छ । बेलुकी प्राज्ञ भित्राङ्गी काइँला, सुजन सेलिङ, मङ्गल वेघा, रामप्रकाश समथिङ, पत्रकार गिरिराज बास्कोेटाहरुसँगको भलाकुसारी, प्रा.डा. टङ्क न्यौपानेको किरात भाषा, लिपि र मिथकहरुमाथिको वकालत अनि देशकै ठूलो विद्वान हुँ भनीटोपल्नेहरुलाई ढेसिङ दिने खालका बहस र बौद्धिक तर्कहरु साँच्चै मननीय लाग्ने ।

साथमा केही रमाइला किस्साहरु छँदै थिए । भोलिपल्ट बिहान ७ बजेबाट कार्यक्रम शुरु हुने उर्दी थियो । बिहानै उठियो । कार्यक्रम रेडियो टाइममा शुरु भयो । हाम्रो संस्कार कार्यक्रममा कति मान्छे भेला गर्न सकिन्छ वा सकियो ? भन्ने छ । पान्थरमा चाहिँ कति मान्छे कस्ता मान्छेलाई बोलाउने ? भन्ने कुराले अर्थ राख्दोरहेछ । असीमित भीड, अनावश्यक कोलाहल, कुर्सी घाराक र घुरुकको साटो त्यहाँ प्राज्ञ, भद्रभलाद्मी, नेता, पत्रकार, कवि तथा लेखकहरुको उपस्थिति । सबैको ध्यान वक्ताहरुतर्फ केन्द्रित, सबै चकमन्न । पाहुनाहरुलाई अनावश्यक ढर्राको साटो पीपलको पातलाई ब्याच बनाइएको, कति सरल र गहकिलो लाग्ने अग्र्यानिक स्वागत र सम्मान ? मैले आफैसँग मनोसंवाद गरेँ ‘प्रयोग र नयाँपन र विभिन्न अभियानले कहिले नथाक्ने पान्थर ।’
अझ अचम्मको कुरा चाहिँ पुरस्कार प्रदानको शैली ।

दुबो, धुपी, बत्तुको माला र नाङ्लोभरि मानव जीवन भोगाइका एकसरो सामग्री । उपस्थित सबैलाई लाग्थ्यो त्यो पाहुनाहरुलाई मायाको चिनो होला । तर जब सम्मान तथा पुरस्कार वितरण गर्दा थाहा भयो । जीवन भोगाइको एकसरो जिन्सी सामग्रीहरु सम्मानित तथा पुरस्कृत स्रष्टाद्वय विद्या निर्दोषी ओझा र कवि राज माङ्लाकलाई प्रदान गरिने रहेछ । साथमा क्रमशः रु. ५ हजार ५ सय ८० र रु. ५५ हजार ५ सय ८० नगद पनि छँदै थिए । कवि हुनुको आनन्दिबोध त्यो बेला जो कोहीलाई भएको हुनुपर्छ ।  सो सम्मान र पुरस्कारको शैली व्यवस्थापन र तामझाम हेर्दा मदन पुरस्कारभन्दा कम थिएन । आयोजक पनि समथिङ पुरस्कारलाई मोफसलकै आकर्षक पुरस्कार  बनाउने योजनामा रहेछन् । ‘हामी काठमाडांैभन्दा बाहिर पनि राम्रो पुरस्कार बाँडिन्छ भन्ने सन्देश दिन चाहन्छौं’ –संस्थापक गुरुङ रामचन्द्र समथिङ भन्दै थिए । पुरस्कार तथा सम्मानको सवालमा एकपल्ट एक जना दाइसँग मेरो निक्कै गम्भीर कुराकानी भएको थियो ।

अब कवि कलाकारलाई खादा र सम्मान–पत्रमात्र होइन, बरु त्यसको ठाउँमा केही नगद पनि हुनुपर्छ । खोक्रो आदर्शले सधैँ सक्रिय हुन सकिँदैन भन्दा ती दाइले निक्कै उरन्ठ्यौले आदर्श तर्कहरु पेश गरेका थिए । र ती दाइले ‘यस्तो कुरा मसँग त गरिहाल्नु भो अरुतिर चाहिँ नगर्नु है लाज हुन्छ’ भनेका थिए । ती दाइलाई त्यसैबेला मैले भनेको थिएँ, ‘कवि कलाकारलाई सम्मान–पत्र र दोसल्लाको ठाउँमा बरु सो बराबरको नगद देऊ तर फुको सम्मान र पुरस्कार नदेऊ भनेर म टुँडिखेलमा गएर भन्छु ।’ तर पान्थरमा कसैले त्यसो भन्नु परेन अरुले भन्नुपर्ने ठाउँमा स्वयम् आयोजकले सम्मान र पुरस्कार कसैको खिल्ली उडाउने खालको नगरौं बरु लाजमर्दो कार्यक्रम नै नगरौं भनेर घोषणा गरे । यही सिलसिलामा हतुवागढीका गजलकार तथा साहित्यसेवी विश्वजित राईको फेसबुक पोष्ट ‘पुरस्कारको नाममा कसैलाई बोलएर दोसल्ला र सम्मान–पत्रको ठाउँमा त्यहाँसम्म उसलाई आते–जाते गाडीभाडा देऊ’  ले निक्कै चर्चा पाएको थियो ।

मलाई पान्थरको त्यो सम्मान र पुरस्कार कार्यक्रम हेर्न र महसुस गर्न पाउँदा भाग्यमानी महसुस गरें । मैले चाहने सम्मान र पुरस्कार पनि यही खालको हो । गर्दा होस् या त लिँदा होस् । सम्मानित र पुरस्कृत दुवै स्रष्टाले जीवन भोगाइको एकसरो सामग्रीको साथमा माथि उल्लेखित नगद प्राप्त गरे । पुरस्कृतहरुको जिन्सी सामान बोक्ने झोला पनि आयोजकले नै ठिक्क पार्देका रहेछन् । त्यो बेला भने हल नै हाँसोले गुञ्जायमान भयो । पान्थरको अर्को सबल पक्ष भनेको जो कोही प्रखर वक्ता । जतिखेर जहाँ पनि विषय नजिक रहेर बोल्न सक्ने खुबी बहुत सुन्दर पक्ष लाग्यो । युवा पुस्ताको वजन निर्धारण अध्ययनले नै गर्छ भन्ने उदाहरण लाग्यो पान्थरको कार्यक्रम ।  

कार्यक्रम निर्धारित समयमै सम्पन्न भयो । हामीलाई आयोजकले सोही दिनको १२ बजेको टिकट गरिदिएकोले कार्यक्रम सकिएलगत्तै खानपिनमा जुट्यौं । त्यति हतार–पतार किन गाडीको टिकट ? यसको रोचकता अरु नै छ । कुनै बेला चिया गफको रोचक विषय बन्नेछ । आयोजक साथीहरुसँग केही भलाकुसारी गर्दै गर्दा हामीलाई बोक्ने ट्याक्सी आइपुग्यो र हामीले पान्थरको दुईदिने यात्रालाई अनेकौं अनुकरणीय आयाम र संस्कारलाई आत्मसात गर्दै बिट मा¥यौं ।