धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउती फेदी जलाधार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको पर्यटकीयस्थल साकेला पार्कको शनिबार उद्घाटन गरिएको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ लाबरबोटेस्थित इन्द्रेणी पुलनजिकै नवनिर्मित साकेला पार्क, सिंहदेवी थानी मन्दिरको प्रदेश सांसद् आर्सी तुम्बाले एक समारोहको बीच उद्घाटन गरेका हुन् । सांसद् तुम्बाको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको १० लाख रुपैयाँ र २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँ जनश्रमदानसहित १२ लाख ५७ हजार ६ सय ६२ रुपैयाँ कुल लागतमा साकेला पिकनिक स्थल, साकेला पार्क, सिंहदेवी थानी मन्दिरको कम्पाउण्ड र सिंहशिला पैदल हिँडेर पुग्न पहुँचमार्ग निर्माण गरिएको हो ।

पर्यटकीयस्थलहरू र पहुँचमार्गको उद्घाटन गर्दै प्रदेश सांसद् तुम्बाले प्राकृतिक र वातावरणीय हिसाबले लुकेर बसेको पर्यटकीय गन्तव्यको पहिचान भएको बताए । सांसद् तुम्बाले पर्यटकीयस्थलहरूको निर्माण भएसँगै यस क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायको आर्थिक विकास भई सामाजिक रूपान्तरणमा सहयोग पुग्ने आशा व्यक्त गरे । उनले धरान–धनकुटा लोकमार्ग नजिकै साकेला पार्क, पिकनिक स्थल, थानी मन्दिर, सिंहशिलाजस्ता धार्मिकस्थलहरूको पहिचान भई स्थापना गरिएकाले आन्तरिक तथा वाह्य पर्यटकहरूको आवत–जावत बढ्ने आशा व्यक्त गरे । सांसद् तुम्बाले हरेक वर्ष प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट एउटै स्थानमा लाउन नमिल्ने भएकोले स्थानीय सरकारका वडाध्यक्षज्यूहरूलाई साकेला पार्कमा बजेट लगानी गर्न आग्रह गरे ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले लेउती फेदी जलाधार क्षेत्र भौगोलिक भू–बनोटको हिसाबले बाढी पहिरोको जोखिममा रहेकोले वर्षा याममा सचेत रहन स्थानीय समुदायलाई आग्रह गरे । राईले यस क्षेत्रमा विश्रान्ति धामपछिको अर्को धार्मिक तथा पर्यटकीय स्थलको निर्माण भएको दाबी गरे । उनले साँगुरीगढी गाउँपालिकामा पर्ने जलाधार क्षेत्र यस गाउँपालिकाको मात्र नभई सिङ्गो धनकुटा जिल्लाको गहना भएको दाबी गरे ।

लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवद्र्धन समितिको स्थानीय व्यवस्थापनमा निर्माण कार्य सम्पन्न भएको पर्यटकीय स्थलहरूको बारेमा समितिका अध्यक्ष बलबहादुर राईले जानकारी गराएका थिए । सो अवसरमा उनले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त बजेटले सिंहदेवी थानी मन्दिरको वरिपरि २९ मिटर लामो ढुङ्गाको मेसिनरी कम्पाउण्ड वाल, धरान–धनकुटा लोकमार्गदेखि साकेला पार्क वा मन्दिरसम्म जाने १ सय ७५ मिटर लामो रन–वे ढलान गरिएको, ५१ मिटर लामो फलामको रेलिङ र साकेला तथा केलाङ पार्कमा सभाहलसमेत निर्माण गरिएको जानकारी गराए ।

उनले सोकला पार्कभन्दा २ सय मिटर दक्षिणमा उत्तर गङ्गा स्नानस्थल समेत निर्माण गरिएको, पार्कको नजिकै हात्तीले पाइला टेकेको ढुङ्गा, भीमसेन ढुङ्गा, सिंहनाद गरेको सिंह आसनको ढुङ्गालगायत पर्यटकीय स्थलहरूको पहिचान गरिएको बताए । जसले गर्दा यस क्षेत्रका आन्तरिक तथा वाह्य पर्यटकहरूको गन्तव्य बन्नेमा आफू ढुक्क रहेको उनले बताए ।