• भूमिराज पराजुली

दमक/ दमक–६ की खुर्सिदा खातुन भारतबाट फर्केकी हुन् । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल बहुप्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेण्टिनमा उनी बसेकी छन् । एक हप्ताअघि भारतबाट आएकी उनको काखमा दुधे बालक पनि छ । आफ्नो मात्र दूधले छोरा अघाउन नसक्ने उनले बताइन् ।

त्यसैले त्यस्ता दुधे बालकहरूलाई सहज होस् भनेर यहाँ दूध तथा अन्य बालपौष्टिक आहाराको पनि व्यवस्था गरिएको छ । बिहान बेलुका गरेर सङ्ख्या र आवश्यकता हेरेर दूध तथा अन्य बालबालिकाले खाने खानेकुरा ल्याइदिने गरेको दमक नगरपालिका क्वारेण्टिन व्यवस्थापन समितिका सदस्य–सचिव कुवेर भट्टराईले जानकारी दिए ।

यहाँ होल्डिङ स्टेसनसहित २ ओटा क्वारेण्टिन सञ्चालनमा छन् । एउटा क्वारेण्टिनमा महिलालाई मात्र राखिएको छ भने अर्को क्वारेण्टिनमा पुरुषलाई मात्र राखिएको छ । दुई क्वारेण्टिनको दूरी करिब २ किलोमिटर छ । महिलाका लागि व्यवस्था गरिएका क्वारेण्टिनमध्ये पनि दमकका बासिन्दा र बाहिरका महिलाका लागि पनि अलग–अलग व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार तीन ओटा क्वारेण्टिनमध्ये मिष्ट कलेजलाई होल्डिङ स्टेसनका रूपमा उपयोग गरिएको छ । यस स्थानमा पुरुषहरूलाई मात्र राखिएको छ ।

महिलाहरू मात्र राखिने मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल बहुप्राविधिक शिक्षालयको क्वारेण्टिनमा पनि दमकका स्थानीय र अन्यत्रका महिलाहरूलाई भेट हुन नपाउने गरी अलग्गै राखिएको छ । कलेजको माथिल्लो तलामा दमकका मात्र महिलाहरू राखिएका छन् । महिला मात्र राखिएको क्वारेण्टिनमा महिलाहरूको सहजताका लागि सरसफाइका सामग्री तथा सेनिटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

क्वारेण्टिनमै रहेको समयमा समेत महिलाहरूमाथि विभेद तथा हिंसा हुन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन उनीहरूका लागि अलग्गै बस्ने व्यवस्था मिलाइएको उपप्रमुख अधिकारीले बताइन् । शुरुमा महिला र पुरुषलाई एउटै क्वारेण्टिनमा राख्ने गरिएको भए पनि भारतबाट नेपालीहरू भिœयाउने क्रम शुरु भएसँगै अलग–अलग क्वारेण्टिन सञ्चालन गरिएको हो ।

६ सय ११ को स्वाब सङ्कलन
दुई वटा क्वारेण्टिनमा गरेर बिहीबार ३ बजेसम्ममा ९ जना महिला र ३८ जना पुरुष रहेका छन् । दमक नगरपालिकाले अहिलेसम्म ६ सय ११ जनाको स्वाब परीक्षणका लागि ल्यावमा पठाइसकेको छ । जसमध्ये ५ सय ६९ को रिपोर्ट आइसकेको र अब ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

बिहीबारसम्मको रिपोर्टअनुसार दमकका ९ जनामा पिसिआर रिपोर्ट पोजेटिभ अर्थात् कोरोना सङ्क्रमितहरू रहेका छन् । सङ्क्रमितहरू सबैलाई विभिन्न अस्पतालमा राखिएको छ । सङ्क्रमित ९ मध्ये वजन उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ३ जना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालय र चितवनस्थित अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरूको पनि अवस्था सामान्य रहेको र नियमित सम्पर्कमा रहेको क्वारेण्टिन व्यवस्थापन समितिका सदस्य–सचिव भट्टराईले जानकारी दिए ।

क्वारेण्टिनमै मनोविमर्श सेवा
गौरीगञ्ज गाउँपालिकाको वडा नं. ६ मा रहेको गौरीगञ्ज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको क्वारेण्टिनमा रहेका २९ जनालाई मनोविमर्श सेवा प्रदान गरिएको छ । लायन्स क्लब अफ लखनपुरले मनको कुरा आदान–प्रदान, मनोसामाजिक विमर्श, मनोचिकित्सा परामर्श, व्यायाम र नृत्यको माध्यमबाट क्वारेण्टिनमा रहेका उनीहरूलाई मनोविमर्श प्रदान गरेको हो ।

क्वारेण्टिनमा रहेका व्यक्तिहरूसँग मनको कुरा गर्दै लायन्स तथा साइको सोसियल काउन्सलर गोविन्दराज कट्टेलले एक्लोपन महसुस हुन नदिन, दिक्क लाग्न नदिन र एकछिन भए पनि मनको कुरा साटासाट गर्न मनो विमर्शको कार्यक्रम राखिएको बताए । लायन्स क्लब अफ लखनपुरका अध्यक्ष हेमसागर अधिकारीले जिल्लाभरका क्वारेण्टिनमा रहेकाहरूलाई मनोपरामर्श दिँदै आएको बताए ।