धरान/कोरोना भाइरस हावामार्फत् पनि सर्ने पछिल्लो तथ्य सार्वजनिक भइरहेका बेला यसको सङ्क्रमणले मस्तिष्कमा पनि समस्या ल्याउने वैज्ञानिकहरूले खुलासा गरेका छन् ।

कोरोना भाइरसको अध्ययन गरिरहेका वैज्ञानिकहरूले कोरोनाको सङ्क्रमणले मस्तिष्कसम्बन्धी अनेक समस्या ल्याउने तथ्य प्रस्तुत गरेका हुन् । हालसम्म प्राप्त तथ्यका आधारमा वैज्ञानिकहरूले नयाँ कुरा खुलासा गरेका हुन् । रोयटर्समा उल्लेख भएअनुसार युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा यस्तो तथ्य बाहिर आएको छ ।

वैज्ञानिकहरूले प्रस्तुत गरेको प्रतिवेदनमा कोरोनाका कारण मस्तिष्क रोग, पक्षाघात, नसासम्बन्धी समस्या हुने उल्लेख छ । ४३ जना सङ्क्रमितमा गरिएको अध्ययनबाट यस्तो निष्कर्ष आएको रोयटर्समा उल्लेख छ । अन्य अध्ययनमा पनि सङ्क्रमणका कारण मस्तिष्क ड्यामेज हुने देखाएको थियो ।

वैज्ञानिकहरूले ती निष्कर्षलाई पनि समावेश गरेको छ । अध्ययनमा संलग्न माइकल जाण्डीले सन् १९२० र ३० को दशकमा देखिएको हात्तीपाइले रोग होस् वा सन् १९१८ मा देखिएको इन्फ्लुएञ्जामा, यस्ता महामारीको सम्बन्ध ब्रेन ड्यामेजको घटनासँग जोडिएको उल्लेख गरेका छन् ।

शुरुवाती चरणमा कोभिड–१९ ले श्वास–प्रश्वाससम्बन्धी समस्या भएर फोक्सोमा असर गर्ने देखिएको थियो तर युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानको तथ्य भने हालै मात्र बाहिर आएको हो । ती वैज्ञानिकहरूले दिमागलाई असर गरेको समेत बताएका छन् । उक्त अध्ययनमा ९ जना कोभिड–१९ का बिरामीमा दुर्लभ खालको एन्सेफलोमाइलाइटिस फैलिएको अवस्थामा भेटिएको उल्लेख छ । विशेष गरी यस्ता भाइरल इन्फेक्सन बच्चाहरूमा बढी भेटिएको छ ।

अध्ययनमा संलग्न रोस प्याटर्सनले कोभिड–१९ को कारण बिरामीमा हुन सक्ने मस्तिष्कसम्बन्धी प्रभावका विषयमा चिकित्सकसमेत सचेत रहनु पर्ने उल्लेख गरे । चिकित्सकलाई त्यसबारेमा जानकारी भएमा मात्रै बिरामीको उपचार सही ढङ्गबाट हुन सक्ने उनले उल्लेख गरेका छन् ।

अध्ययनले नयाँ–नयाँ खालका समस्या देखिएकाले कोभिड–१९ बाट सतर्क रहन वैज्ञानिकहरूले आग्रह गरेका छन् । किनकि अहिलेकै अवस्थामा खोप तथा औषधि पत्ता लाग्ने अवस्था नरहेकाले पनि कोभिड–१९ बाट बच्नका लागि आग्रह गरिएको छ ।