धरान / दुई बर्ष अघि भारतले निर्यात रोक्दा अदुवाको मुल्य घटेर प्रतिकिलो १० रुपैयामा पुगेको थियो । गतबर्षदेखि नेपाली अदुवा भारतीय बजारमा निर्यात सहजभएसंगै मुल्य पनि आकासिएर करिव दुईसय रुपैया प्रतिकिलो पुग्यो । भारतीय बजारमा निर्भर नेपाली अदुवा किसानहरुले पाएको मुल्य सम्झेर व्यापक व्याबसायिकरुपमा अदुवा खेती गरे तर आइलाग्यो कोरोना महामारी र लकडाउन ।

अहिले अदुवाको मुल्य गतबर्षको जति नभए पनि सन्तोषजनक अर्थात प्रतिकिलो सरदर ७० रुपैया देखि ९० रुपैया पुगेको छ । उत्पादन पनि बढेको छ । भारतले भन्सार नीतिमा केही खुकुलो बनाएर नेपाली अदुवालाई उसको बजारमा प्रवेश गर्न दिएको छ । तर कोरोना महामारी र लकडाउनले किसान र व्यापारीलाई अन्यौल थपिदएको छ ।

धरान–१३ स्थित कृषी उपज बजारका व्यबस्थापक लक्ष्मण भट्टराईले भने, ‘अदुवाको सिजन सूरु भएर मध्यमा पुगेको छ । कोरोना त्रास र लकडाउनका वीच हालसम्ममा करिव ५ हजार २ सय मेट्रिक टन अदुवा भारतीय बजारमा निर्यात भइसकेको छ । त्यो भनेको करिव साढे ४१ करोड रुपैया हो । यदि कोरोनामहामारी र लकडाउन नहुने हो र गतबर्षकै जतिको मुल्य तोकिएको भए एक अर्व रुपैयाकै हाराहारीमा कारोबार भएको हुन्थ्यो ।’

उनका अनुसार सिन्धुली र खोटाङसहित सुनसरी, मोर¨, उदयपूर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र पाचथरका व्याबसायिक अदुवा किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा पुग्ने गरेका छन् । पूर्वी नेपालमा जति अदुवा उत्पादन हुन्छ त्यसको १० प्रतिशत मात्र स्थानीय उपभोक्ताले खपत गर्ने गरेका छन् भने बांकी ९० प्रतिशत अदुवा भारतीय बजारमा निर्यात र निर्भर हुने गरेको बजार व्यबस्थापक भट्टराईले बताए ।

उनका अनुसार हालसम्ममा उत्पादित अदुवा मध्ये ५० प्रतिशतको कारोबार भइसकेको छ भने बांकी ५० प्रतिशत बारीमै छ । दैनिक २० देखि २५ टन अदुवा भारतीय बजारमा निर्यात हुने क्रम जारी भएपनि कोरोना महामारी र लकडाउनले अनिश्चिताता उत्पन्न गराएको छ ।

स्थानीय व्यापारी विनोद राईले भने, ‘यो समय कस्तो रह्यो भने अदुवा निर्यातमा भारतीय निति खुकुलो भएको बेला नै कोरोना महामारी भयो । यसै वेला अदुवा पनि उत्पादन विक्रि गर्र्नु पर्ने उसैको देशमा । यो अनिश्चितताको वीचमा हामीले अदुवाको फोटो खिचेर दिल्लीमा बस्ने खरिदकर्तालाई इन्टर्नेट मार्फत पठाउछौं । अनि उसले माग गरे अनुसार नाकासम्म पठाइदिन्छौं । उसले दिल्ली पु¥याएपछि विक्रि गरेर आफ्नो नाफा राखेर फेरि नाकासम्म रकम पठाउने गरेको छ । चिन्नु छैन जान्नु छैन विश्वासको भरमा अदुवा पठाउनु जोखिम पुर्ण बनेको छ ।’

गतबर्ष करिव साढे दुइ अर्व रुपैया बराबरको १० हजार मेट्रिक टन अदुवा धरानस्थित कृषी उपज बजारबाट कारोबार भएको थियो । यसबाहेक कृषी बजारमा नपु¥याई बाहिर मात्र पनि करिव २ हजार मेट्रिक टन बढीको कारोबार अर्थात ५० करोड रुपैयाको खरिद विक्री भएको अनुमान कृषि उपज बजार समितिले गरेको छ ।

अदुवाको उत्पादन गतबर्ष भन्दा केही बढी भएपनि मुल्य भने कोरोना महामारी र लकडाउनकोे बहानाले ५० प्रतिशत झरेको छ । नेपाली बजार नभएपनि भारतीय बजारलाई लक्षित गरेर किसानले उत्पादन गरेका अदुवा कृषकको बारीबाट थोक बजारसम्म र थोक बजारबाट भारतीय बजारसम्म निर्यात गर्ने सहज वातावरण सरकारले बनाउइदिए नेपाली कृषकलाई फाइदा पुग्ने विष्णुपादुकाका स्थानीय अगुवा अदुवा कृषक पदम राईले बताए ।