ब्लाष्टखबर ।  प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ ।

 मन्त्रालयमा आज  एक कार्यक्रमको आयोजना गरी  मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गरेका छन् ।

मन्त्रालयले प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टि.भी.एस. कम्पनीको १६० सि.सी.को अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सि.सि.को पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सि.सी.को यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो ।

यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागी मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको थियो ।

हस्तानतरण कार्यक्रममा मन्त्री कार्कीले हरेक प्रहरी युनिटमा सवारी साधन पुर्‍याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती रहेको हुँदा सवारी साधन उपलब्ध गराईएको बताएका छन्  ।

उनले अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको पनि जनाएका छन् ।

चावी ग्रहण गर्दै  प्रदेश प्रहरी प्रमुख कार्कीले प्रदेश सरकारलाई  धन्यवाद दिएका थिए । मन्त्रालयकाे सवारी प्रदान गर्नाले प्रहरीमा हैसला प्रदान गरेकाे बताउदै उनले, प्राप्त सवारी साधनले प्रहरीको काम कारवाहीमा सहजता प्रदान गरी चुस्त दुरुस्त हुनेमा आफु बिश्वस्त रहेको बताएका छन् ।