धरान / सात कारोड ५० लाख रुपैयाँ लागत स्टिमेटको धरान–५ मा पर्ने अँधेरी खोलामा बन्ने भनिएको पुल निर्माण शुरु भएको चार वर्षमा चार पिल्लरमात्र उठाइएको छ । सुनसरी–मोरङ पुल आयोजनासँग गरेको सम्झौताअनुसार दुई वर्षमा पुल निर्माण गरिसक्नु पर्नेमा उक्त दुई वर्षमा चार पिल्लर मात्र बनाएका छन् ।

नेपाल सरकारको भौतिक पूर्वाधार निर्माण मन्त्रालयको बजेटमा ०७४ कात्तिकदेखि मृत सञ्जीवनी एच के विल्डर्स जेभी कम्पनीका ठेकेदार हसबुल मियाँले बीचैमा छाडेका हुन् । लम्बाइ १ सय २५ मिटर, चौडाइ ११ मिटरको पुल निर्माणका लागि मियाँ र पुल आयोजनाबीच पहिलो दुईवर्षे सम्झौता अवधि गत ०७६ साल असार २५ मै सकिएको थियो । तर अहिलेसम्म पुल निर्माण सम्पन्न नभएपछि स्थानीय सरोकारवाला, उपभोक्ताहरूले ठेकेदार कम्पनी र पुल आयोजनाले बेवास्ता गरेको बताए ।

पुल निर्माण सहजीकरण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार ठेकेदार सम्पर्कविहीन भएका छन् । पुल आयोजनासँग गुनासो राख्दा नसुनेझैं गर्छन् । उनले ब्लाष्टलाई भने, ‘ठेकेदार मियाँले पुल निर्माणमा ढिलाइ गरे । यस्तालाई सरकारले कालोसूचीमा नराखेर संरक्षण गरेको छ । यता हामी स्थानीय बासिन्दा अँधेरी खोलामा कहिले पुल बन्छ भनेर पर्खिरहेका छौं ।’

मियाँले पुल निर्माण गर्न शुरु गर्दा खोलाको गिट्टी, बालुवा अन्यत्र लगेर लाखौं रुपैयाँमा बिक्रीसमेत गरेका थिए । त्यसबेला स्थानीय बासिन्दाले ‘पुल निर्माण गर्न आएको कि अँधेरी खोलाको गिट्टी, ढुङ्गा र बालुवा निकालेर बेच्न आएको’ भनेर विवादसमेत गरेका थिए ।
चारवटा पिल्लरमात्र रहेको अधुरो पुल निर्माण कार्य सम्पन्न गर्न समन्वय समिति बनाएर पुल आयोजना र ठेकेदार कम्पनीलाई दबाव दिने तयारी भइरहेको स्थानीय देउमान लिम्बूले बताए । उनले भने, ‘पुल निर्माणमा ठेकेदार कम्पनी र पुल आयोजनाले व्यापक लापरबाही गरेको देखियो ।’ ठेकेदार मियाँले भने आफूले कुनै लापरबाही नगरेको बताए । उनले पुल आयोजनासँग बजेट सकिएकाले हाललाई रोकिएको जनाए ।