संखुवासभा । संखुवासभा लगायतका विभिन्न जिल्लामो हुने रुद्राक्ष व्यसाय धराशायी बन्दै गएको छ । बर्खायाम सुरु भएसंगै नियमित पानी परिरहेका कारण फुलेको रुद्राक्षको फुल बोटमै कुहिएर नष्ट भएपछि व्यावसाय नै संकटमा परेको हो । कोरोना भाईरसको कारण अस्तब्यस्त भएको रुद्राक्ष व्यावसाय अत्याधिक बर्षाको कारण थप धराशायीबनेको छ ।
रुद्राक्षको फुल फुल्ने यो समयमा लगातार बर्षा भएपछि करिव ७५ प्रतिशत फुल बोटबाट झरिसकेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाई छ । घामपानीको कारण अधिकांश रुद्राक्षको बोट फुल बिहिन बनेको अध्यक्ष विसुङ्केले बताए । उनले केहि दिन पानी परेर एक दिन घाम लागेपछि पुरै फुल कुहिएर झर्ने अध्यक्ष विसुङ्केले बताए । अझै घामपानी लगातार भईरहेकोले बाँकी रहेको करिव २५ प्रतिशत फुल पनि झर्ने खतरा रहेको समेत विसुङ्केको भनाई छ ।
रुद्राक्षको फुल बोटमै कुहिएर झर्न थालेपछि करोडौको लगानी गरेका व्यावसायीहरु चिन्तित बनेका छन् । एकै बोटलाई करोड रुपैयाँसम्म लगानी गरेर ठेक्का हालेका व्यावसायीहरुको लगानी डुब्ने खतरा बढेपछि ब्यावसायीहरु चिन्तित बनेका हुन् । बोटमा फुल नै नरहेपछि फलको आसा सकिएको रुद्राक्ष व्यावसायी अर्जुन न्यौपानेको भनाई छ । करोडको हाराहारीमा रुद्राक्षमा लगानी गरेको बताउँदै व्यावसायी न्यौपानेले लगानी फर्कने आस मरेको बताए ।
बषौंनी व्यवसाय सञ्चालन गरिरहेका उन्ले यसपालि कोरोनासंगै बर्षाले समेत समस्या बनाएको भन्दै चिन्तित छन् ।
केहि बर्ष अघिसम्म बोटमा मात्र लगानी गर्दै आएका व्यवसायीहरुले यस बर्ष औषधी समेत खरिद गरेर बोटमा छर्केका थिए । लाखौ रुपैयाँमा खरिद गरेर औषधी हालिए पनि फुल नै झरेपछि घाटाको मात्रा बढेर गएको हो । चिनबाट लाखौ रुपैयाँमा ‘भिटामिन’ भनिएको रुद्राक्ष चिल्लो पार्ने औषधी खरिद गरेर यसपालि बोटमा प्राय सवैले छर्केका थिए ।
तर फुल नै झरेपछि औषधीमा गरिएको लगानी पनि बालुवामा पानी भएको छ । औषधी यस पटक गत बर्षभन्दा बढि मात्रमा छर्किएको छ । तर नियमित परेको झरीले औषधीमा गरेको लागनी समेत डुब्ने भन्दै व्यवसायीहरु चिन्तित रहेका छन् ।
यस बर्ष अरुण उपत्यका क्षेत्रमा एक बोटलाई एक करोड २० लाख रुपैयाँसम्म लगानी गरेका छन् । गत बर्ष एकै बोटलाई एक करोड ४५ लाख रुपैयाँमा व्यावसायीले ठेक्का हालेको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभाको चेवाबेँशी, स्याबुन, याफु, चन्दनपुर लगायतको क्षेत्रमा गुणस्तरिय रुद्राक्ष फल्दै आएको ब्यावसायीहरु बताउछन् । यो संगै यहाँका व्यवसायीहरुले भोजपुरको षडानन्द नगरपालिका तथा साल्पासिलिछो गाउँपालिका क्षेत्रमा समेत लगानी गरेको छ ।
चिल्लो र ठुलो आकारको रुद्राक्ष चिनियाँ व्यापारिले खरिद गरेर लैजाने गरेका छन् भने मुखदार रुद्राक्ष भारत निर्यात हुने गरेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि व्यापारिहरुको आगमन नहुँदा रुद्राक्ष व्यावसाय खस्कने अनुमान गरिएको छ । विदेशमा निर्यात गरेर सबैभन्दा धेरै अर्थोपार्जन गर्दै आएको रुद्राक्ष व्यवसाय कोभिड १९ ले समस्या पारेको थियो नै तर बर्खायामको सुरुवतीमा परेको नियमित अबिल बर्षाले गर्दा व्यवसाय धारासायी बनेको हो । पछिल्लो समय अत्याधिक बर्षाको कारण उत्पादन घट्ने भएपछि सङ्खुवासभाको अर्थतन्त्रमा यसको ठुलो असर देखिने जानकारहरुले बताउदै आएका छन् ।