• सिंह चाम्लिङ राई

उदयपुर / भारतबाट शनिबार तराईमा प्रवेश गरेको सलह किरा आइतबार उदयपुरका विभिन्न ठाउँमा देखापरेको छ । ठूलो समूहमा हिँड्ने किरा कटारी नगरपालिका–८ शिरिषे आसपासको क्षेत्रमा देखापरेको हो ।
शनिबार सर्लाही, बारा, पर्सा र रूपन्देहीमा देखिएको सलह किरा देखापरेपछि कृषकहरू त्रसित भएका छन् । शनिबार साँझ करिब ५ बजे १५ देखि ५० वटाको समूहमा सलह देखापरेको कटारी नरपालिकाको कृषि विकास शाखाले जनाएकोे छ ।

उक्त क्षेत्रमा मकैलगायतका अन्नबालीमा बस्ने र उड्ने गरेको भए पनि कुनै क्षति भने नगरेको कटारी नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सोनु मिश्रले बताए । उनले भने, ‘किरा हेर्दा सलह नै हो, तर ठूलो सङ्ख्यामा उड्ने किरा उदयपुरमा भने थोरै सङ्ख्यामा मात्र देखिएको छ ।’ यसको पहिचान गर्नका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर पठाएको शाखा प्रमुखले बताए । अहिले मकैलगायतका खेतबारीमा लगाएको अन्नबालीमा बस्ने र उड्ने मात्रै गरेकाले कुनै क्षति गरेको छैन । यसको प्रकोपबाट बच्नका लागि तत्काल एफएम रेडियोमार्फत् सूचना प्रसारण गर्न थालेको उनले बताए ।

सलह किरा देखापरेपछि यसको जोखिमबाट बच्ने उपायसहित सम्भव हुने व्यवस्थापनका विधिहरू अवलम्बन गर्न कृषि शाखाले आग्रह गरेको छ । सलह हटाउन ठूल्ठूला आवाज आउने वस्तु बजाउने, आगो बाल्ने, धुवाँ निकाल्ने जस्ता क्रियाकलाप गरे बारीमा नबस्ने जनाइएको छ । आइतबार बिहान कटारी बजार र लेखानीमा पनि केही सङ्ख्यामा किरा देखापरेको स्थानीयले बताएका छन् । कटारी बजारमा १–२ वटा निकै जनाले देखेको सुनाएको र आफूले पनि घरको भित्तामा एउटा देखेको स्थानीय अनिस राईले बताए ।

बिहानै लेखानी स्कुलमा २ वटा सलह जस्तै देखिने फट्याङ्ग्रा देखा परेपछि स्थानीयले एउटालाई समाते पनि एउटा उडेर गएको कटारी नगरपालिका–१४ का वडासदस्य डुकमाया मुरी मगरले बताइन् । समातेर हर्दा सलह नै हो भन्ने लागेको उनले बताइन् ।

बेलका नगरपालिका र नेपालटारमा पनि सलह देखापरेको कृषकहरूले जनाकारी गराएपछि पालिकाका कृषि प्राविधिकहरूलाई हो या होइन, तत्काल एकिन गर्न लगाएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए । स्थानीय प्रविधिको प्रयोग गरेर किरालाई हटाउन सक्ने मन्त्रालयले जनाएको उनले बताए । विस्तृतमा आउन बाँकी रहेको उनले बताए ।