- सन्तवीर लामा
धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिकाले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब ९ कारोड रुपैयाँले बजेट वृद्धि गरेको छ ।
कोभिड–१९ को महामारीको कारण अधिकांश स्थानीय तहले बजेटको आकार खुम्च्याइरहेको अवस्थामा छथरजोरपाटी गाउँपालिकाले भने ८ करोड ४१ लाख ५ हजार रुपैयाँले आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेटको आकार बढाएको हो ।
छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठले बुधबार सार्वजनिक गरेको आगामी वर्षको बजेट ३८ करोड ३६ लाख ६२ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने २९ करोड ९५ लाख ५७ हजार रुपैयाँ थियो, जसको तुलनामा आगामी आर्थिक वर्षको बजेट २८.०९ प्रतिशतले बढी देखिएको छ । आगामी आर्थिक वर्षको चालूतर्फ २५ करोड ४५ लाख ९६ हजार र पुँजीगत तर्फ १२ करोड ९० लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी आन्तरिक आयतर्फ ९५ लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ८ करोड ६१ लाख राजश्व बाँडफाँडतर्फ ६ करोड १७ लाख ५३ हजार, सङ्घीय सरकारबाट सशर्त अनुदानतर्फ १५ करोड ७२ लाख, विशेष अनुदान १ करोड र समपूरक अनुदान १ करोड रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् । प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ ६९ लाख ८३ हजार, राजश्व बाँफाँडबाट ३१ लाख ३ हजार, समपूरक अनुदान १ करोड, सशर्त अनुदान १७ लाख १० हजार र अल्या २ करोड ७३ लाख १३ हजारसमेत गाउँपालिकाको सञ्चित कोषमा आय जम्मा हुने गरी प्रस्ताव गरेकी छन् ।
अघिल्लो आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था हेर्दा ६ करोड २० लाख ४९ हजार अर्थात् ४९.६९ प्रतिशत र चालू खर्च २० करोड ५३ लाख १८ हजार (६८.९२ प्रतिशत) खर्च भई कुल खर्च २६ करोड ७३ लाख ६७ हजार (६१ प्रतिशत) मात्र खर्च हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा पुँजीगत तर्फ करिब ८ करोड १० लाख रुपैयाँ थप खर्च भई ३४ करोड ८३ लाख ६७ हजार खर्च हुनेसमेत उपाध्यक्ष श्रेष्ठले अनुमान गरेका छन् ।
प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ कृषि उत्पादन तथा उत्पादकत्व बढाउन २० लाख विनियोजन गरिएको छ । कृषकलाई प्रोत्साहित गर्न ‘सय मुरी धान– बीस हजारले सम्मान, पचास मुरी मकै–बीस हजार सर्लक्कै, सय टन तरकारी–बीस हजार पुरस्कार जितौं सरकारी’ जस्ता पुरस्कार कार्यक्रमहरू सञ्चालन गर्नको लागि १ करोड ४५ लाख २ हजार विनियोजन गरिएको छ । त्यस्तै पशु सेवातर्फ युवालक्षित व्यावसायिक पशुफार्म सञ्चालनसमेतका लागि १ करोड १५ लाख २ हजार ‘उद्यमशीलताबाट रोजगारी र उत्पादनमा वृद्धि, यस गाउँपालिकाको हुन्छ समृद्धि’ भन्ने नारालाई सार्थक तुल्याउन उद्योग तथा वाणिज्यतर्फ ४३ लाख, पर्यटनतर्फ १७ लाख ६४ हजार, सहकारीतर्फ १० लाख, गरी कुल ३ करोड २३ लाख २४ हजार विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ १८ करोड ८ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ ७ करोड ७७ लाख १४ हजार, हाम्रो वन छथरजोरपाटीको धन भन्ने नारालाई सार्थक बनाउन र कोभिड–१९ कोरोना भाइरस महामारी नियन्त्रणलगायत गरी ८७ लाख ६० हजार विनियोजन गरिएको छ । त्यस्तै ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्नेछु, छथर जोरपाटी राष्ट्र सेवा पदक’ लगायत विविध कार्यक्रमको लागि ७ करोड ४५ लाख ३७ हजार विनियोजन गरिएको उपाध्यक्ष भीमकला श्रेष्ठले जानकारी गराएकी छन् । गाउँपालिकाको नीति कार्यक्रम भने यसअघि असार ७ गते नै अध्यक्ष शेरबहादुर लिम्बूबाट प्रस्तुत भई पारित भइसकेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।
छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।