• दिनेश सुब्बा/पथरी

मोरङको पथरीशनिश्चरे नगरपालिकाको सातौं नगरसभा सम्पन्न गर्दै आर्थिक बर्ष २०७७/०७८ को लागी ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएकाे छ । 

बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर बजेटबारे जानकारी दिएको हो । नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, वडाध्यक्ष तथा प्रवक्ता याम गुरागाईं, वडाध्यक्षहरू डम्बर चेम्जोङ, गोविन्द भण्डारी र जय तामाङको उपस्थितमा बजेट सार्वजनिक गरिएकाे हाे ।

नगर प्रमुख राईले आन्तरिक आम्दानीबाट २ करोड, राजस्व बाँडफाँडबाट १२ करोड, ९७ लाख ३७ हजार, ७ सय ७० रुपैयाँ, संघीय सरकारबाट ४६ करोड ४९ लाख, प्रदेश सरकारबाट ९६ लाख, ५५ हजार, ८ सय ६६ रुपैया, निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश) बाट २ करोड ५० लाख, वडा भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट १ करोड गरी जम्मा ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानीत बजेट प्रस्तुत गरिएकाे बताए । यो बजेट सामाजिक सुरक्षा कोषको रकम बाहेक रहेको प्रमुख राईले बताए ।

त्यसै गरी व्ययतर्फ चालू खर्च ११ करोड, ६६ लाख, २८ हजार, ५ सय, वडागत सिलिङ ७ करोड ५० लाख, सशर्त अनुदानतर्फ ३२ करोड, ४६ लाख ५७ हजार ७ सय ३२ रुपैयाँ रहेको छ । नगरपालिकाले वारुणयन्त्र खरिद गरी जनशक्ति व्यवस्थापन गर्ने भएको छ । महामारीकाे समयमा नगर भित्र खटिने स्वास्थकर्मीहरूको लागि १ लाख रुपैयाँ प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको छ ।

नगरलाई रमणीय तथा पर्यटकीय स्थल बनाउन नगरको ऐलानी तथा खाली जग्गाको पहिचान गरी खाली भूभागमा चिल्ड्रेन पार्क र पर्यटकीय स्थल निर्माण गर्ने भएको छ । नगरका सामुदायिक र संस्थागत विद्यालयहरूमा छात्रासँग उपप्रमुख कार्यक्रम सुरु गर्ने, सबै सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउँदै लगिने, नगरस्तरीय रंगशाला र वडास्तरीय खेल मैदानलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरिएकाे छ ।

५ प्रकारको दीर्घ रोगीलाई दिँदै आएको १५ हजारलाई निरन्तरता दिँदै थप ३ प्रकारका रोगीलाई यस कार्यक्रममा समावेश गरी जीवनभर १ पटक सुविधा प्रदान गर्ने नीति ल्याएको छ । त्यसै गरी ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि ५० बाट ६० हजार रुपैयाँ पुर्याएको छ ।

नगरपालिकाको प्रस्तावमा प्रदेश सरकारको तर्फबाट वडा नं. १० मा बनाइने संग्रहालय निर्माणका लागि पहल गर्ने, निर्माणधीन ५ वटा वडा कार्यालय र थप ३ वटा वडा कार्यालय गरी जम्मा ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने भएको छ । पहिलो नगरसभाले वडा नं. १ स्थित नगरको जग्गामा सपिङ कम्प्लेक्स विस्तृत अायाेजना प्रतिवेदन (डिपिआर) समेत भएकोले सपिङ कम्पलेक्स निर्माणमा जोड दिने, प्रत्येक वडामा खुल्ला व्यायामशाला निर्माण र वडा नं. १ र १० मा रंगशाला निर्माणको लागि संम्भाव्यता अध्ययन गरी कार्यन्वयन गर्ने भएको छ ।

नगरले विदेशबाट घर फर्केका र स्वदेशमा कृषि उद्यम गर्न चाहनेलाई लक्षित गरी मत्स्य पालन, पशुपंक्षी पालन, प्रशोधन, बजारीकरण समेत गर्ने नीति अख्तियार गरेकाे छ ।