- खेवाहाङ मेवाहाङ/संखुवासभा
जिल्लाको पहिलो नगरपालिका खाँदबारी नगरपालीकाको सातौं नगरसभाको बुधबारबाट सुरु भएको छ । खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक बर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरपालिकाका ११ वटै वडाबाट आएका योजनाका साथै नगरस्तरीय, प्रदेश स्तरीय र विभिन्न दातृ निकायको सहयोगमा संचालित योजनाहरूको प्रस्ताव गरेका थिए । प्रमुख खतिवडाले आर्थिक वर्ष ०७६/७७ को उपलब्धि र आर्थिक बर्ष २०७७/०७८ का लागि प्रस्तावित आयव्ययको विवरण प्रस्तुत गरेका हुन् ।
नगरपालिकातर्फ ६१ करोड ८३ लाख ७० हजार ४ सय अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ भने नगरपालिकाको आर्थिक श्रोतबाट ४ करोड, राजश्व बाँडफाट तर्फ ८ करोड २२ लाख ६७ हजार ४ सय, त्यसै गरी संघीय वित्तिय समानीकरण अनुदानबाट १७ करोड ७ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ २७ करोड १८ लाख, समपूरक २ करोड ४६ लाख, प्रदेश वित्तीय समानीकरणतर्फ ७२ लाख ६ हजार, प्रदेश सशर्त राजश्व अनुमानतर्फ ७७ लाख ९७ हजार, प्रदेश समपूरक अनुदानतर्फ १ करोड र सडक बोर्ड नेपालतर्फ ४० लाख आय आर्जन हुने गरी अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
कुल बजेट ६१ करोड ८३ लाख ७० हजार ४ सय मध्ये नगरपालिकातर्फको प्रशासनिक खर्चका लागि ११ करोड २९ लाख ९७ हजार, भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड ४० लाख, आर्थिक विकासतर्फ १ करोड ५० लाख, सामाजिक विकासतर्फ २ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४० लाख, सुसाशन तथा संस्थागत विकासतर्फ २५ लाख बिनियोजन गरिएको छ । त्यसमध्ये संघीय सरकारबाट सशर्त अनुदानतर्फ २७ करोड १८ लाखको बजेट तथा कार्यक्रम समेत प्राप्त भैसकेको अवस्था रहेको नगरप्रमुख खतिवडाले नगरसभालाई जानकारी गराएका थिए ।
खाँदबारी नगरपालीकाले यस वर्षको नीति तथा कार्यक्रममा सडकको स्तराेन्नति, खानेपानी, विद्युतीकरण र वातावरणीय सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ । संखुवासभा जिल्लाका १० वटै पालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संखुवासभाका १० स्थानीय तह मध्ये अधिकांशले यस वर्षको नीति तथा कार्यक्रममा सडक, खानेपानी, विद्युतीकरण तथा सडकलाई प्राथमिकतामा राखेका छन् ।