• धनबहादुर पुरी

इटहरी / प्रदेश १ कै चौरास्त सडकले छोएको उदयीमान शहर इटहरीले यो आर्थिक वर्षमा दुईवटा अत्यावश्यक योजना गुमाएको छ । इटहरीमा अत्यावश्यक रहेको स्मार्ट पार्किङ र आकाशे पुल बन्ने योजना यो वर्षको तुहिएको हो ।

नेपालमै पहिलोपटक इटहरीमा स्मार्ट पार्किङ निर्माण हुने भन्दै इटहरी उपमहानगरपालिकाले प्रचार गरे पनि काम शुरु नगर्दा यो वर्ष इटहरी सरकारलाई आएको साढे ५ करोड रुपैयाँ फ्रिज भएको छ । यो वर्ष बनिसक्ने पार्किङको सामान्य कामसमेत शुरु नभई बजेट फ्रिज भएको हो ।

पार्किङ समस्याले टाउको दुखाइ बन्दै आएको इटहरी उपमहानगरपालिकामा अधिकांश ग्राहक तथा सर्वसाधारणले सडकमै पार्किङ गर्दै आएका छन् । तर इटहरी उपमहानगरपालिकामा पार्किङको लागि आएको करोडौं रुपैयाँ फ्रिज हुनु दुःखद् भएको बताउँछन् इटहरीका व्यवसायी विष्णु बास्तोला । ‘बजेट फिर्ता जानबाट रोक्नमा इटहरी सरकार गम्भीर भएको देखिएन’ –उनले भने ।

उपमहानगरले वडा नं. ४ टेङ्ग्रा खोला उत्तर–पूर्वमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण गर्न लागिएको थियो । त्यहाँ सयवटा हलुका सवारीसाधन पार्क गर्न सकिनेछ । उपमहानगरको पहलमा सङ्घीय सरकारले समपूरक अनुदानमार्फत् ५ करोड २० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
करिब १० करोड रुपैयाँ लागतमा स्मार्ट पार्किङ निर्माण हुने तयारी भए पनि यो वर्ष रोकिएको इटहरीका इञ्जिनियर जीवन घिमिरे बताउँछन् । लकडाउनको कारण यो वर्ष पार्किङको काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘आवश्यक सामग्री र कामदार सम्म भारतबाट आउनु पर्ने थियो, अर्को वर्षको लागि काम गर्ने हामीले मन्त्रालयसँग पत्राचार गरेका छौं’ –इञ्जिनियर घिमिरेले भने ।

यदि अर्को वर्ष पार्किङ निर्माण भए सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टवेयरले १ मिनेटमै खाली भएको ठाउँमा पठाउनेछ । सवारी पार्किङबाट निकाल्दा पुनः १ मिनेटमा नै पहिला भएको ठाउँमा ल्याइदिनेछ । यो प्रविधि सबै अटोमेटिक (स्वचालित) हुनेछ । त्यहाँ सवारीसाधन वासिङ गर्ने स्मार्ट वास र कफी सपको पनि व्यवस्था हुनेछ ।
त्यस्तै प्रदेश १ कै प्रमुख शहर इटहरीको मुख्य चोकमा लक्षित गरी निर्माण गरिने भनेको आकाशे पुलको काम पनि यो वर्ष रोकिएको छ । इटहरी चोकमा ट्राफिक व्यवस्थापन गर्न आकासे पुल बनाउने तयारी भएको भन्दै पुलको डिजाइनसमेत सार्वजनिक भए पनि यो वर्ष आकाशे पुलको काम पनि अधुरै रहने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

प्रदेश १ का पूर्वाधार मन्त्रालयका रेवती पराजुलीले यो वर्ष आकाशे पुलको ठेक्का रद्द भएको बताए । इटहरी चोकमा आकाशे पुल बन्ने तयारी सबै भइसकेको भए पनि प्राविधिक कारणले पुल निर्माणको काम रोकिएको पराजुली बताउँछन् । इटहरीको चोकमा पैदल यात्रु बाटो पार गर्नका लागि आकाशे पुल नहुँदा हैरानी खेप्दै आएका छन् । सवारीसाधनले व्यस्त चोकमा पैदल यात्रुको चाप पनि उत्तिकै हुन्छ । अहिले मुख्य चौकमा जामसमेत हुन थालेका कारण पैदल यात्रीलाई बाटो काट्न समस्या हुँदै आएको छ ।
प्रदेश १ कै केन्द्रविन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले प्रचार–प्रसार गरे पनि यो वर्ष इटहरीमा आकाशे पुलको काम अगाडि नबढेको इटहरी उपमहानगरपालिका स्वीकार गर्छ । इटहरीको मुख्य चोकमा सर्वसाधारण पैदल यात्रुहरूको लागि बाटो काट्न समस्या हुन थालेको भन्दै इटहरीका प्रदेश सांसद्द्वय लिलम बस्नेत र सर्वध्वज साँवाको पहलमा चोकमा आकाशे पुल निर्माण गर्ने तयारी गरिएको थियो ।

इटहरीको मुख्य चोकमा आवत–जावत गर्न असहज भएको कारण आकाशे पुल निर्माण गर्न आफूहरूले पहल गरेको प्रदेश सांसद् लिलम बस्नेतले बताए । ‘हामीले इटहरीमा आकाशे पुल अत्यावश्यक ठानेर बजेटसमेत विनियोजन भए पनि यो वर्ष केही प्राविधिक कारणले आकाशे पुलको काम शुरु हुन नसकेको हो’–बस्नेतले भने । यो वर्ष काम रोकिए पनि अर्को आर्थिक वर्षको शुरुसँगै आकाशे पुलको काम शुरु हुने सांसद् बस्नेतको भनाइ छ ।
आकाशे पुलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको योजना यस वर्षको लागि भने रोकिएको इटहरी उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमिरेले जनाएका छन् । निर्माणको काम अन्तिम तयारीमा पुगेपछि प्राविधिक कारणले रोकिएको इञ्जिनियर घिमिरेले बताए ।