विराटनगर / विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।
आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० रुपैयाँ प्राप्त हुने छैठौ नगर सभामा उपप्रमुख इन्दिरा कार्कीले बाइन् । यस्तै, संघीय तथा प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकारबाट ससर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ करोड १० लाख ९ हजार १ सय ८० प्राप्त हुने उनले बताइन् । यस्तै, संघीय सरकारबाट विशेष अनुदान १३ करोड, प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड, वैदेशिक र अन्य संघ संस्थाबाट अनुदान ३ करोड २६ लाख ७८ हजार १ सय ८० रुपैयाँ, जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार अनुमानित आय कार्कीले नगर सभामा प्रस्तुत गरिन् ।

महानगरले कोरोना भाइरसको महामारी र लकडाउनको प्रभावका कारण चालु आर्थिक वर्ष भन्दा १८ दशमलव ३१ प्रतिशत कम बजेट ल्याएको हो । चालु आवका लागि गत वर्ष ४ अर्ब १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको थियो । कोरोना भाइरसले आम्दानी खुम्चिँदा महानगरले अनुमान गरेभन्दा चालु आर्थिक वर्षमा ४८ दशमलव २७ प्रतिशत कम २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको उपप्रमुख कार्कीले बताइन् । उनले उक्त आयमध्ये चालू आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४ सय ४९ रुपैयाँ मात्रै खर्च हुन सकेको र अन्य मौज्दात रहेको सभामा जानकारी दिइन् ।

व्ययतर्फ प्रशासनिक खर्च ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड वातावरण तथा फोहोर व्यवस्थापन तर्फ ल्यान्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार विनियोजन गरिएको छ । नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला, बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख कार्कीले बताइन् ।

नगर सभालाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ जनप्रतिनिधिले जनताको इच्छा चाहनामा चल्न सक्ने हुनुपर्ने बताए । उनले प्रदेशका जनप्रतिनिधिलाई संकटसँग लड्नसक्ने मनोविज्ञान र भावनाका साथ आगाडि बढन उनले बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनताको अपेक्षा अनुसारको विकास निर्माणको काममा कोरोना महामारीको कारणले प्रभाव परेको बताए । उनले कोभिडको कारणले आर्थिक समस्या सामाना गुर्न परेको बताए ।

कार्यक्रममा प्रजातान्त्रिक सेनानीहरू रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्याम सुब्बा, तोरेन्द्र मानसिंह प्रधानलगायतलाई सम्मान गरिएको थियो । सोही अवसरमा कार्यक्रममा महानगरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरियो ।