- धनबहादुर पुरी
इटहरी / फोहोर व्यवस्थापन अहिले चुनौती बनिरहेका बेला इटहरीमा बायोग्यास उत्पादन गर्न मिल्ने गरीको ल्याण्डफिल्ड साइड बनिने क्रममा छ ।
इटहरीमा निर्माणाधीन अवस्थामा रहेको फोहोर प्रशोधन केन्द्रको आधाजति काम सम्पन्न भइसकेको छ । इटहरीको फोहोर व्यवस्थापनको जिम्मा पाएको वेष्ट इन्भारो म्यानेजमेण्ट प्रालि र वल्र्ड बैङ्कको लगानीमा इटहरीमा अत्याधुनिक ल्याण्डफिल्ड साइड निर्माण भइरहेको हो । करिब १८ करोडको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको छ । उपमहानगरको आफ्नै स्वामित्वमा रहेको साढे ३ बिगाहा जमिनमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । उपमहानगर क्षेत्रमा दैनिक ३५ देखि ४० मेट्रिक टन सड्ने र नसड्ने फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गरिने वेष्ट एण्ड इन्भारो म्यानेजमेण्ट प्रालिका व्यवस्थापक भरत गिरीले बताए । गत फागुन १ गतेबाट ल्याण्डफिल्ड साइडको काम थालिएको छ ।
प्रालिले इटहरीमा २० वर्षको लागि फोहोर व्यवस्थापनको जिम्मा पाएको छ । व्यवस्थापक गिरी भन्छन्, ‘फोहोर फाल्ने ठाउँ नभएर समस्यामा परेका छिमेकी नगरको फोहोर समेत त्यहाँ फाल्ने व्यवस्था मिलाइनेछ ।’
ग्यास बेच्ने तयारी
इटहरीवासीको घरमा उत्पादन भएको फोहोरले बायोग्यास निर्माण गरी इटहरीवासीलाई एलपी ग्यासभन्दा कम मूल्यमा वितरण गरिने भएको छ । भान्साबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गरी त्यसबाटै खाना पकाउने ग्यास बनाइनेछ ।
‘यसअघि नै गोबर र मानव मलमूत्रबाट बायोग्यास उत्पादन भइसकेको भए पनि पछिल्लो समय भान्साबाट निस्कने फोहोरबाट मात्र बायोग्यासको उत्पादन नेपालमै पहिलो हो’ वेष्ट एण्ड इन्भारोका गिरी भन्छन्, ‘फोहोर व्यवस्थापनको चिन्ता पनि नरहने, भान्साकै फोहोरबाट खाना पकाउने ग्यास निकाल्न सकिने, यो गजबको छ ।’
चिया पकाइसकेपछि उब्रेको चियापत्ती, तरकारीको बोक्रा, जूठो, फालिएको खाना र अन्य चाँडै कुहिने जैविक फोहोरबाट यस्तो ग्यास उत्पादन हुन्छ । इटहरीवासीको लागि मात्र नभई देशकै लागि यो नौलो अभ्यास हुने इन्भारो कम्पनी दाबी गर्छ । यसका लागि दैनिक ३० टन फोहोर अनिवार्य भएको कारण इटहरीमा मात्र उत्पादन नभए अन्यत्र शहरबाट समेत फोहोर ल्याउनुपर्ने अवस्था आउने गिरीले बताए ।
प्राङ्गारिक मल पनि उत्पादन
यसरी ग्यास बनाउनुको अर्को फाइदा प्राङ्गारिक मलको उत्पादन हो । त्योसँगै ग्यास उत्पादन भइसकेपछि ट्याङ्कीको ‘आउटलेट’ बाट निस्कने लेदोलाई करेसाबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आफ्नै करेसाबारी नभए मल बिक्री गर्ने उपाय पनि छँदैछ । कुहिने तथा नकुहिने फोहोर छुट्याउने र प्राङ्गारिक मलसमेत तयार गर्दै वैकल्पिक ऊर्जा उत्पादन कार्य पनि गर्ने गरी प्रशोधन केन्द्रलाई अत्याधुनिक प्रविधियुक्त बनाउने योजना थपिएकाले पनि कम्पनीले परिकल्पना गरेको दाबी गरेको छ ।
उपमहानगरमा खुसी
इटहरीका २० वटै वडाको फोहोर उठाउन मासिक ३ लाख रुपैयाँसमेत दिँदै आएको छ । तर प्लाण्ट सञ्चालनमा आएपछि भने इन्भारो म्यानेजमेण्टले उक्त रकम पाउने छैन ।
कम्पनीले नाफाको १ प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र २० वर्षपछि ल्याण्डफिल्ड साइड स्वतः उपमहानगरपालिकाको हुने सहमति भई निर्माणको काम भइरहेको इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प चौधरीले बताए । चौधरीले भने, ‘अहिले बन्दै गरेको ल्याण्डफिल्ड अत्याधुनिक र सुविधायुक्त हुनेछ ।’
निर्माण भइरहेको ल्याण्डफिल्ड साइड इटहरीको लागि नौलो र अत्याधुनिक भएको चौधरी बताउँछन् । फोहोर व्यवस्थापनपछि वातावरणसमेत राम्रो हुने उनको दाबी छ । अहिले फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा इटहरीको फोहोरमैला चारकोसे झाडीमा फाल्ने गरिएको छ ।