- खेवाहाङ मेवाहाङ
सङ्खुवासभा/ सङ्खुवासभा जिल्लामा निर्माणाधीन जोगवनी–किमाथाङ्का कोशी राजमार्ग जोडिन १४ किलोमिटर मात्रै बाँकी रहेको छ । प्रदेश नं. १ को प्रमुख व्यापारिक मार्गको रूपमा लिइएको त्रिदेशीय लिङ्करोड जोगवनी–किमाथाङ्का सडक अन्तिम अवस्थामा पुगेको हो ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथाङ्का–जोगवनी सडक–खण्ड जोडिन १४ किलोमिटर मात्र बाँकी रहेको उत्तर–दक्षिण सडक डिभिजन कार्यालय सङ्खुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । २०७६ साल भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले किमाथाङ्का–जोगवनी सडक–खण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको थियो । सङ्खुवासभाको निर्माणाधीन क्षेत्रमा ठूला–ठूला चट्टान भएका सडक निर्माणको प्रक्रिया सेनाले अघि बढाएको छ ।
किमाथाङ्का–जोगवनी सडक–खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक पर्छ । भीर फुटाउनका लागि आवश्यक विष्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । खाँदबारी–किमाथाङ्का १ सय ६२ किमी ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी पाएको उत्तर–दक्षिण कोशी सडकले पाएको छ ।
सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर घोङ्गोप्पा खण्ड निर्माणका लागि विष्फोटक पदार्थ आवश्यक पर्नेछ । कडा चट्टान भएको भीर भएकाले यो १४ किलोमिटर सडक–खण्डमा विष्फोट गरेर मात्रै अघि बढ्न सकिने उनले बताए । यो सडक–खण्ड निर्माणका क्रममा ३ अर्ब खर्च भइसकेको प्रमुख श्रेष्ठले बताए ।
उत्तर–दक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी–किमाथाङ्का सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ । आयोजनामार्फत् भोटखोला गाउँपालिका–४ को बरुण र मकालु गाउँपालिकाबीचका विभिन्न स्थानमा आधा दर्जन पक्की पुलको काम भइरहेको सडक आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
विराटनगरबाट किमाथाङ्कासम्मको दूरी ३ सय ९० किलोमिटर छ । सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला बरुण दोभान (८० कि.मी.) सम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेका छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलाबासीहरू अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् ।
नेपाललाई चीनसँग जोड्ने अन्य ६ वटा नाकाभन्दा सहज र छोटो नाका भएकै कारण यसलाई छिटो सम्पन्न गर्नुपर्ने देखिन्छ । यो सडक किमाथाङ्का–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ ।
झण्डै २ वर्षमा ९ कि.मी. मात्रै
बितेको झण्डै दुई वर्षमा ९ किलोमिटर सडक मात्र खुलेको हो । २०७५ को कात्तिकसम्म २३ किलोमिटर मात्र बाँकी रहेको सडक अझै सडक १४ किलोमिटर बाँकी रहेको छ । सङ्खुवासभाको भोटखोला क्षेत्रलाई पूर्वको कर्णाली उपनामले समेत चिनिन्छ ।
भोटखोला क्षेत्र विकट भएकाले पनि सोचेअनुसार काममा प्रगति हुन नसकेको आयोजनाको भनाइ छ । विकट हिमाली क्षेत्र भएकाले वर्षाको समयमा अत्यधिक पानी पर्ने, उपकरण लैजान समस्या पर्नेलगायतका विविध कारणले सोचेजति प्रगति हुन नसकेको प्रमुख श्रेष्ठको भनाइ छ । त्यस क्षेत्रमा गत वर्ष हेलिकप्टरमार्फत् ट्याक्टर र एस्काभेटर पु¥याइएपछि कामले केही तीव्रता पाएको उनको भनाइ छ ।
त्रिदेशीय लिङ्कको रूपमा रहेको यो सडकलाई सरकारले समेत विशेष महत्वका साथ हेरिरहेको छ । यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक हो । विशेषगरी यो सडकले १ नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासीहरूलाई प्रत्यक्ष लाभ पु¥याउनेछ । चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका भएकाले यो सडक निर्माण भएपछि पनि बाह्रै महिना सहज रूपमा यातायातका साधनहरू सञ्चालन हुनेछन् ।
मित्रराष्ट्र चीनसँगको व्यापार बढाउने, सुदूर उत्तरी भोटखोला क्षेत्रका सर्वसाधारण जनतालाई यातायातको सुविधा प्रदान गर्ने मुख्य लक्ष्य रहेको छ । त्रिदेशीय महत्वका हिसाबले हेरिएको जोगवनी–किमाथाङ्का सडक नै एक नम्बर प्रदेशको भाग्य र भविष्य भएकाले सरोकारवाला र सकार लगायतका सबै पक्षले निर्माणमा जोड दिइरहेका छन् ।