धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति रोग विभागले पाठेघर र पिसाब सम्बन्धी महिलामा हुने समस्यामा अत्याधुनिक मेसिनबाट उपचार सुरु गर्ने भएको छ ।
विभागले करिब ९० लाख रुपैयाँ मूल्य पर्ने अत्याधुनिक डिजिटल युरोडाइनामीक सिष्टम मेसिन अनुदानमा प्राप्त गरेको हो । फिस्टुला फ्रि नेपालका संस्थापक अध्यक्ष तथा प्रतिष्ठानको स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्राडा.मोहनचन्द्र रेग्मीको पहलमा प्mलुगा (ँीग्न्ब्) नामक अन्तर्राष्ट्रिय संस्थाले उक्त मेसिन प्रदान गरेको हो ।

यो मेसिन पाएपछि उपचारमा धेरै सजिलो हुने डा.रेग्मीको भनाई छ । उनी भन्छन्, ‘यस उपकरणले महिलामा हुने पाठेघर र पिसाब सम्बन्धि समस्याको निदानमा उच्च मद्धत पुगेको छ । यसले दक्षिण एसियामै सेन्टर अफ एक्सिलेन्स बनाउने हाम्रो सपना पुरा गर्न सहयोग पुग्छ ।’

युरो गाइनोक्लोजी तथा फिस्टुलाका अन्तर्राष्ट्रिय विज्ञ डा. रेग्मीले पूर्वी नेपालका गाउँ गाउँमा पुगेर फिस्टुला पहिचान गर्ने र उनीहरुलाई प्रतिष्ठानमा ल्याएर निशुल्क उपचार गर्ने गरेका छन् । विभागमा नेपालमै पहिलो पटक युरोगाइनोक्लोजी फेलोसिप कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाले सहयोग गर्दै आएका छन् ।