धरान । बहुजातीय संग्राहलय मुन्तिरको धरान–१ मा जग्गाधनी पवनकुमार अग्रवालले आफ्नो जग्गामा केही वर्षअगाडि डोजर लगाई सम्याएका कारण बिहीबार राति परेको पानीले पहिरो जाँदा दुई वटा घरमा क्षति पुगेको छ ।

जग्गाधनी अग्रवालले करिब ४ वर्षअघि डोजर लगाएका कारण अहिले हरेक वर्ष वर्षात्को समयमा पहिरो जाने गरेको छ । बिहीबार राति परेको पानीले एउटा घरमा पूर्ण क्षति पुगेको छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ । बिहीबार रातिको पानीका कारण घरधनी निरू श्रेष्ठको घर पूर्णरूपमा क्षति पुगेको छ । अर्का घरधनी नरेश श्रेष्ठको आंशिक क्षति पुगेको छ । घरधनी नरेश श्रेष्ठले रातिको पानीले माथिबाट ढुंगामाटोसहित आएर घरको कोठाकोठामा पनि प्रभावित बनाएको बताए । ‘वाल थियो, त्यसलाई पनि छिचोलेर घरतिर पूरै आयो’–श्रेष्ठले फोनसम्पर्कमा भने । उनका अनुसार भेलसहित पहिरो आएका कारण रातभरि सुत्न पाएनौं ।

pahiro_dharan_pawan_dharan (2)

व्यापारी अग्रवालले डाेजर लगाएर बनाएकाे क्षेत्र ।

हरेक वर्ष जग्गाधनी श्रेष्ठद्वयसहित गंगा लिम्बू, राजेन्द्र साहलगायतको घरमा क्षति पु¥याउँदै आएको छ । डोजर लगाउनुपूर्व यो समस्या नभएको तल्लोपट्टिको सँधियार गंगा लिम्बूले बताइन् । ‘पानी पर्दैपिछे भल आउँछ, बर्खा लागेपछि समस्या अइहाल्छ’, उनले फोन सम्पर्कमा भनिन्, ‘एउटाको घर छेक्दाखेरि अर्को घरमा आउँछ ।’ उनीहरूले यो समस्या लिएर अहिले धरान उपमहानगरपालिकामा पुगेका छन् । १ नम्बर वडा कार्यालयमा पुगेर निवेदन दिएपछि धरान उपमहानगरपालिकामा ध्यानाकर्षण गराउनका लागि आएको सौरभ सञ्जेलले बताए । ‘वडामा पनि यसबारे जानकारी गराएर उपमहानगरमा आएका छौं’–उनले फोन सम्पर्कमा भने ।

dharan_1_pahiro

भेल पसेपछि सुरक्षाका लागि लगाइएकाे बाँसकाे टेकाे ।

वडाध्यक्ष रोशन अधिकारीले क्षति भएर घरवालाहरू आफूकहाँ गुनासाे लिएर आएकाले निवेदन लेखेर धरान उपमहानगरपालिकामा पठाइदिएको जनाए । ‘डोजर लगाएकाले भेल नै तल झरेछ, एउटा घर पूर्णरूपमा क्षति भएको छ’ उनले भने, ‘निवेदन लेखेर राहतका लागि नगरपालिका पठाइदिएको छु ।’ उनले डोजर लगाएका कारण र सडक निर्माण गर्दा नालाबाट आउने पानी सबै १ नम्बर वडामा झारिदिएका कारणले समस्या भएको बताए । ‘सडक निर्माण गर्दा पनि गल्ती देखिन्छ, डोजरका कारणले पनि अलिकति समस्या भएको हो । त्यहीँ माटो बगेर आएको त हो नि !’ उनले भने, ‘गल्ती फिप्टीफिप्टी देखिन्छ ।’

pahiro_dharan_pawan_dharan (3)

निरू श्रेष्ठ आफ्नाे घरभित्रकाे अवस्था देखाउँदै ।

स्थानीयबासी तथा पूर्वाञ्चल इञ्जिनियरिङ कलेजका प्राध्यापक उद्दव श्रेष्ठ ‘मकै’ ले विजयपुर, हात्तीसार क्षेत्रको पानी आउने निकास एउटै मात्र बनाइदिएका कारण समस्या हुन थालेको बताए । त्यसमाथि पनि जग्गाधनी अग्रवालले डोजर लगाएर सम्याएका कारण थप समस्या भएको बताए । यसले थप क्षति हुने सम्भावना बढेको उनले बताए ।

जग्गाधनी अग्रवालले समस्या सुरु भएपछि आफ्नो जग्गातिर जेसिभी लगाएर सम्याउँदै केही बोरा माटो भरौट गरेका छन् । जग्गावाल अग्रवालले क्षति भएको घरलाई केही राहत दिनेबारे आफूलाई जानकारी दिएको अध्यक्ष रोशन अधिकारीले जानकारी दिए । यस विषयमा बुझ्नका लागि जग्गाधनी अग्रवाललाई फोन गर्दा फोन उठाएनन् ।

डोजर लगाउँदा सँधियारलाई छैन जानकारी

जग्गाधनी तथा व्यापारीसमेत रहेका पवन अग्रवालले आफ्नो जग्गामा डोजर लगाउँदा सँधियारहरूसँग कुनै पनि स्वीकृति नलिएको सँधियारहरूले जनाएका छन् । डोजर लगाए पछि नै हरेक वर्ष त्यहाँ समस्या आउने गरेको छ । आदिवासी जनजाति महासंघले निर्माण गरिरहेको बहुजातीय संग्राहालयले पनि पहिरो जान सक्ने भन्दै बारम्बार ध्यानाकर्षण गराएको थियो ।

pahiro_dharan_pawan_dharan (1)

वडाबासीहरूले पनि पहिरो जान सक्ने भन्दै यसअघि पनि ध्यानाकर्षण गराएको थियो तर, जग्गाधनी अग्रवालले सुनुवाइ नगरेको सँधियारहरू बताउँछन् । माथ्लोपट्टिका सँधियार नरेश श्रेष्ठले डोजर लगाउँदा चार किल्ला गरेको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘केही लिएको थाहा पनि छैन, खन्नु थाल्यो, नगरपालिका रोक्न आएको थियो, त्यसपछि के भो थाहा छैन ।’–उनले भने । तल्लोपट्टिकी सँधियार गंगा लिम्बूले पनि आफूलाई पनि कुनै जानकारी नभएको बताइन् । ‘स्वीकृति नै लिएको छैन भन्ने सुनिन्छ’ उनले भनिन्, ‘डोजर लगाउँदा केही जानकारी दिएको मलाई थाहा छैन ।’