- अनिल श्रेष्ठ
विराटनगर / विभिन्न अपराध गरेको आरोपमा पक्राउ गरेका आरोपीलाई राख्न ५ वटा हिरासत कक्ष रहेको छ । ३ पुरूष, १ महिला र १ बाल निगरानी कक्ष छन् । सबै हिरासत कक्षको भुँईमा काठमाथि फम र निलो रङको कार्पेट बिछ्यार्ईएको छ । महिला र पुरूषको हिरासत कक्ष बाहिर ३ वटा टिभी भित्तामा झुण्डिएको छ ।
गर्मी छल्न हिरासत कक्षै पिच्छे बाहिर स्टेन पङ्खा र विभिन्न सामाग्री राख्ने लकर पनि लामबद्ध छन् । बिहीबार विहान जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा ब्लाष्टकर्मी पुग्दा थुनुवाहरू कोही टिभी हेर्न व्यस्त देखिन्थे भने कोही नित्यकर्ममा व्यस्त थिए ।
मोरङ प्रहरीको हिरासत कक्षको क्षमता ८० जनाको हो । हाल लकडाउनले गर्दा विभिन्न अपराधमा पक्राउ गरेका १० जना मोरङ्ग प्रहरीको हिरासतमा छन् । मोरङ प्रहरीले दिएको जानकारी अनुसार बिहीबारसम्म लागूऔषध मुद्दामा २, कर्तवय ज्यानमा तीन, जवरजस्ती करणीमा २ र सवारी ज्यान मुद्दामा एक जना प्रतिवादी थुनामा छन् ।
अनुसन्धानको क्रममा थुनवालाई राखिने मोरङ प्रहरीको हिरासत कक्ष मानवअधिकार मैत्री नमुना हिरासत कक्ष रहेको छ । हिरासतमा रहेका प्रतिवादीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार सेवा सुविधा दिएर राखिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
अदालतमा म्याद थप गरेपछि कानुनले दिएको अधिकारसम्म अनुसन्धान गर्न हिरासतमा प्रतिवादीलाई राखिन्छ । ५ वटा हिरासत कक्षलाई सुविधा सम्पन्न बनाउने प्रयास गरिएको उले बताए । ‘चिसो लाग्न नदिन हिरासत कक्षको भुँईमा काठको फ्ल्याक बिच्छयाईएको छ । ५ वटा हिरासत कक्षमा फ्लोरिङ कार्पेट राखिएको छ,’ उनले भने, ‘कोरोनाले गर्दा अहिले सामाजिक दुरी कायम गराएर प्रतिवादीलाई यहाँ राखिन्छ ।’ पढाईमा अभिरूचि राख्ने प्रतिवादीहरूलाई प्रहरीले पुस्तकहरू पनि उपलब्ध गराउँदै आएको छ ।
‘हिरासतको बसाई सजिलो बनाउन केही दिन अगाडी ३ वटा टिभी पनि जडान गरिएको हो,’ एसपी अधिकारीले भने, ‘आउँदा दिनमा २ वटा टिभी थप गरि सबै हिरासत कक्षमा पु¥याउने हाम्रो लक्ष्य छ ।’ हिरासत कक्षमा बसेकाहरूलाई समाचार मार्फत देशको अवस्थामा बारेमा जानकारीका लागि टिभीको व्यवस्थापन मिलाईएको छ । उनीहरूलाई समाचार हर्ने समय निर्धारण गरिन्छ । शरीरलाई चुस्त, दुरूस्त राख्न प्रतिवादीहरु बिहान योगा र दिउँसो र साँझ टिभीमा समाचार हेर्ने गर्दछन् ।
हिरासतमा ‘मोटिवेसन’
मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीले विभिन्न अपराध गरेको आरोपमा पक्राउ परेर अनुसन्धानको क्रममा हिरासतमा रहेकाहरूलाई मोटिवेशन पनि दिँदै आएका छन् । मानसिक रूपमा विक्षिप्त नहोस भनेर मोटिवेशन दिने गरिएको उनले बताए । उनीहरुलाई सहि आचरण, संस्कार र जीवनलाई कुशल पुर्वक अगाडी बढाउन हौसला प्रदान गरिने खालको मोटिभेसन दिने गरिन्छ । ‘कसैले गल्ती गरेको रहेछ भने पनि मानिसबाट जानी नजानि गल्ती भएको हुन्छ,’ एसपी अधिकारीले भने, ‘त्यो गल्तीलाई भविष्यमा सुधार गर्न सकिन्छ भनेर हामीले मोटिभेसन हुने खालको अन्तरक्रिया गर्दै आएका छौं ।’