कालाबन्जार । रामधुनी नगरपालिका–१ नयाँटोलमा आदिवासी पार्क निर्माण थालिएको छ । प्रदेश १ सरकारको योनजा अनुसार आदिवासी पार्क निर्माण थालिएको हो ।

प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएअनुरूप आदिवासी पार्कको घेराबारा र प्रवेशद्वार निर्माण थालिएको छ । एक बिघाभन्दा बढी क्षेत्रफलमा आदिवासी पार्क निर्माण हुने निर्माण समितिका अध्यक्ष अनिश चौधरीले जानकारी दिए । उनकै अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।

समितिको तर्फबाट स्थानीयले ४ लाख २६ हजार रुपैयाँ बराबरको जनश्रमदान गरिरहेका छन् । पार्क निर्माणको जग्गाको स्वामित्व भासी माविको रहेको छ । समितिका अध्यक्ष चौधरीले पार्क निर्माणका लागि प्रदेशसहित स्थानीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए । यसैबीच प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, नगर प्रमुख जयप्रकाश चौधरी, वडाध्यक्ष महेश चौधरी, सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईलगायतले अनुगमन गरेका छन् । संसदीय दलका नेता राजीव कोइरालाले पार्क निर्माणका लागि थप सहयोग जुटाउने प्रतिवद्धता गरे ।

पार्कमा थारू समुदायको विशेष सांस्कृतिक प्रतीकसहित रहने भएको छ । पार्क निर्माण कार्य २०७३ जेठ २३ गतेदेखि नै सुरु भए पनि बजेट अभावका कारण पार्क निर्माणले तीव्रता पाउन सकेको थिएन । पार्कको नाम जनजागृति पार्क राखिएको छ ।