धरान । स्वतन्त्र विद्यार्थीहरूले सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै धरानको भानुचौकमा प्रदर्शन गरेका छन् ।

पूर्वाञ्चल इञ्जिनियरिङ कलेज धरानका स्वतन्त्र विद्यार्थीहरू सहभागी भएर सरकारलाई लकडाउनको विकल्प दिँदै सतप्रतिशत पीसीआर गर्न माग गरेको हो ।

विद्यार्थीहरूले विभिन्न प्ले कार्डहरू बोकेर शान्तिपूर्ण रूपमा आज बिहान ११ बजेतिर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले तीन महिनादेखि लकडाउन मात्रै गरेको तर पीसीआर परीक्षणलाई तीव्रता नदिएको बताए । ‘हाम्रो उद्देश्य पीसीआरमा ध्यान पुगोस् भन्ने हो’ प्रदर्शनमा सहभागीमध्ये मिमाङ किराँतले भने, ‘सुरक्षित क्वारेन्टिन निर्माण गर्नुपर्छ ।’

सरकारले र्यापिड डाइग्नोष्टिक टेष्ट परीक्षणमा मात्रै ध्यान दिएको जुन विश्व स्वास्थ्य संगठनले खारेज गरेको अवस्थामा अझै परीक्षण गरिरहेकाले पनि यस्तो तत्काल बन्द गर्न माग गरेका हुन् । उनले भने, ‘कतिपय ठाउँमा आरडिटी टेष्ट गरेका कारणले बिरामीको मृत्यु भइरहेको छ’–उनले भने । प्राविधिक क्षेत्रका विद्यार्थीहरू सहभागी भएको प्रदर्शन करिब आधा घण्टाभन्दा बढी गरेका थिए । उनीहरूले सरकारलाई पीसीआर गर्न दबाव सिर्जना गर्न ह्यासट्याग नै बनाएर जारी गरेका छन् ।

आजै काठमाडौं, पोखरालगायतका क्षेत्रमा पनि स्वतन्त्र विद्यार्थीहरू स्वस्फूर्त रूपमा आन्दोलित बनेका छन् ।